रसुवाको कालिकास्थानस्थित एक विद्यालयमा हालै बाढी प्रभावित गाउँबाट सरेर आएका एक नयाँ सहपाठीबारे कुरा निस्कँदा १२ वर्षको कलिलो उमेरमै ती बालकले आफूलाई संसारकै एक्लो महसुस गरे।
विद्यालय भ्रमणमा पुगेका 'हेलम्बु एजुकेसन एन्ड लाइभ्लीहुड पार्टनरसिप' (हेल्प) का सदस्यहरूलाई अर्का एक विद्यार्थीले मसिनो स्वरमा सोधे, 'अब उसको को नै छ र? बाढीले परिवारका सबैलाई बगायो। ऊ त भागेर बाँच्यो, तर आफ्नै आँखाअगाडि साथीलाई बाढीले लगेको देख्यो। यो स्कुलमा पनि ऊ पूरै नयाँ छ। अब उसलाई तपाईँहरूले कहाँ लानुहुन्छ? '
यस वर्ष भोटेकोसीमा आएको बाढीले माथिल्लो रसुवामा वितण्डा मच्चाउँदै त्रिशूली किनारको राजमार्ग बगाएपछि सयौं राहतका ट्रकहरू नौकुण्ड गाउँपालिकाको साँघुरो र हिलाम्मे बाटो हुँदै कुदे। बाढीले सोझै क्षति पुर्याएका नदी किनारका बस्तीतर्फ हुइँकिएका ती सवारीसाधनले नौकुण्डका सग्ला देखिने विद्यालयहरूलाई भने पछाडि नै छाडिदिए। बाहिरबाट सग्ला देखिने ती विद्यालयभित्र एउटा नदेखिने र नसुनिने संकट मडारिरहेको थियो।
नौकुण्डका कक्षाकोठाका भित्ताहरू त भत्किएका थिएनन्, तर ती कोठाभित्र बसिरहेका कैयौं बालबालिकाको संसार भत्किएको थियो। कसैले तल्लो भेगमा पसल थापेर परिवार पाल्ने अभिभावक गुमाएका थिए भने कोही आमाबुबा र दाजुभाइ-दिदीबहिनी गुमाएर विस्थापित भई आएका साथीहरूको पीडा साटिरहेका थिए। भौतिक संरचना सुरक्षित रहेकै कारण यी विद्यालयहरू प्रत्यक्ष राहतको प्राथमिकतामा परेनन्, जसले गर्दा शोकमा डुबेका बालबालिका भित्रभित्रै एक्लिँदै जाने जोखिम बढेको थियो।
यसै सन्दर्भमा 'हेल्प' र बेलायती संस्था 'स्कुल इन अ ब्याग' (एसआइएबी) ले शुक्रबारबाट विशेष अभियान सुरू गरेका छन्। जसअन्तर्गत नौकुण्डका ३० भन्दा बढी सामुदायिक विद्यालयमा शैक्षिक सामग्रीले भरिएका २ हजार वटा झोला (स्कुल ब्याग) विद्यार्थीको हातमै पुर्याउन थालिएको छ।
'एउटा झोलाले यी बालबालिकाले गुमाएका कुरा फिर्ता ल्याउन त सक्दैन,' हेल्पका सह-संस्थापक जिमी लामाले भने, 'तर यसले तिमीहरूलाई कसैले बिर्सेको छैन, तिमीहरूको ठाउँ अझै पनि विद्यालय नै हो र तिमीहरूको पढाइ रोकिनु हुँदैन भन्ने स्पष्ट सन्देश दिन्छ।'
'स्कुल इन अ ब्याग' को नेपाल आकस्मिक बाढी प्रतिकार्य योजनाअन्तर्गत रसुवा र नुवाकोटका ३ हजार ५ सयभन्दा बढी विद्यार्थीसम्म पुग्ने लक्ष्य राखिएको छ। यसअन्तर्गत छनोट भएका विद्यालयका प्रारम्भिक बालविकास (इसीडी) देखि कक्षा ८ सम्मका प्रत्येक विद्यार्थीलाई पाठ्यसामग्री, सरसफाइ किट, ज्यामिति बक्स र जाडोका लागि न्यानो टोपीसहितको झोला वितरण गरिँदैछ। यस्तै, कक्षा ९ र १० का विद्यार्थीका लागि थप शैक्षिक सामग्री उपलब्ध गराइएको छ।
शैक्षिक सामग्री वितरण यो अभियानको एउटा पाटो मात्र हो। बालबालिकाको कक्षाकोठाको पहिलो दिनदेखि नै आधारभूत शिक्षालाई बलियो बनाउनुपर्छ भन्ने मूल मान्यतामा आधारित रहेर हेल्पले 'साथी शिक्षक कार्यक्रम' सञ्चालन गर्दै आएको छ। यही सोचलाई विपद् प्रभावित कक्षाकोठामा व्यवहारमा उतार्न कार्यक्रमका ३० जना शिक्षकहरू स्थानीय जनप्रतिनिधि र विद्यालय परिवारसँग मिलेर १५ वटा विद्यालयमा खटिएका छन्। उनीहरूले खेल, कथावाचन र चित्रकलामार्फत एकदिने रमाइलो कार्यशाला सञ्चालन गरिरहेका छन्, जसले बालबालिकालाई कक्षाकोठामा पुनः सुरक्षित र सहज महसुस गराउन मद्दत पुर्याउनेछ। साथै, स्थानीय शिक्षकहरूका लागि पनि सहकर्मी सिकाइ सत्र सञ्चालन गरिएको छ।
नौकुण्डको यो अभियानअघि टोलीले विदुरमा प्रारम्भिक मूल्यांकन गर्नुका साथै यातायात सम्पर्क विच्छेद भएको आमाछोदिङ्मो गाउँपालिकाको हाकु गाउँमा ड्रोनको सहायताले सौर्यबत्ती पुर्याएको थियो। यस्तै, कालिका र राम्चेमा पनि राहत वितरण गरिएको थियो। आयोजक संस्थाले बाढीका कारण विस्थापित भई हाल काठमाडौंमा आश्रय लिइरहेका हाकुबेसीका विद्यार्थीहरूलाई पनि स्कुलब्याग र न्यानो ट्र्याकसुट उपलब्ध गराएको छ।
सन् २०१२ मा सिन्धुपाल्चोकबाट सहकार्य सुरू गरेयता हेल्प र 'स्कुल इन अ ब्याग' ले देशका २० भन्दा बढी जिल्लामा २७ हजारभन्दा धेरै स्कुलब्याग वितरण गरिसकेका छन्। बाढीपछिको यो विशेष अभियानसँगै देशभरका करिब ३० हजार बालबालिकाको हातमा लेख्ने, चित्र कोर्ने र सम्मानका साथ सिक्ने सामग्री पुग्नेछ।