सिन्धुपाल्चोक। शुभदीपावली २०८३ को अवसरमा श्री थाङ्पालधाप माध्यमिक विद्यालय, पाँचपोखरी–६ ले आयोजना गरेको देउसी–भैलो कार्यक्रमबाट १० लाख ७३ हजार ७ सय ५८ रुपैयाँ नगद सहयोग संकलन भएको छ।
विद्यालयका प्रधानाध्यापक आत्माराम दंगालले दिएको जानकारीअनुसार विद्यालयको सेवा क्षेत्रअन्तर्गत पाँचपोखरी थाङ्पाल गाउँपालिका–६ का विभिन्न टोलमा पुगेर सञ्चालन गरिएको देउसी–भैलो कार्यक्रम तथा देश–विदेशमा रहेका विद्यालयका शुभचिन्तकहरूले अनलाइन र क्यूआरमार्फत उक्त रकम सहयोग गरेका हुन्।
विद्यालयको शैक्षिक तथा भौतिक विकासमा थप योगदान पुर्याउने उद्देश्यले विभिन्न व्यक्तित्वहरूले थप आर्थिक तथा भौतिक सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएका छन्।
पाँचपोखरी थाङ्पाल गाउँपालिका अध्यक्ष टासी लामाले गाउँपालिकाको तर्फबाट २ लाख रुपैयाँ, उपाध्यक्ष सुनिता अधिकारीले ५० हजार रुपैयाँ तथा वडा नं. ६ का अध्यक्ष नारायण भट्टराई र वडा सदस्य दिनेश देउजाले वडाको तर्फबाट २० हजार रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
त्यसैगरी, पाँचपोखरी–१ का नेपाली कांग्रेसका युवा नेता सुनिल दोङले विद्यालयलाई एक थान स्मार्ट बोर्ड उपलब्ध गराउने तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रविन थापाले स्टेज निर्माणका लागि १ लाख ५० हजार रुपैयाँ बराबरको स्रोत सुनिश्चित गराउने प्रतिबद्धता व्यक्त गरेका छन्।
देउसी–भैलोबाट संकलित रकम तथा थप सहयोगले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, प्रविधिमैत्री शिक्षण सिकाइ र भौतिक पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुग्ने प्रधानाध्यापक दंगालले विश्वास व्यक्त गरेका छन्।
कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण दानदाता, विद्यार्थी, शिक्षक–कर्मचारी, अभिभावक तथा शुभचिन्तकप्रति विद्यालय परिवारले आभार व्यक्त गरेको छ।

