नेपालको एकीकरण अभियानको इतिहाससँग जोडिएको सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–४ मा अवस्थित ऐतिहासिक थानाभञ्ज्याङ गढी संरक्षण र प्रचार–प्रसारको अभावमा ओझेलमा परेको छ । इतिहासको महत्वपूर्ण अध्याय बोकेको यो गढी उचित संरक्षण, पुरातात्त्विक अध्ययन र पर्यटन प्रवर्द्धनको पर्खाइमा छ ।
नेपाल एकीकरणका क्रममा पृथ्वीनारायण शाहले काठमाडौँ उपत्यका प्रवेश गर्ने तथा उत्तरी नाकाहरूमा निगरानी राख्ने रणनीतिअनुसार यस क्षेत्रमा सैनिक चौकी स्थापना गरेको स्थानीय जनश्रुति छ । तत्कालीन समयमा भोट (तिब्बत) सँगको व्यापारिक मार्गको सुरक्षा, सैनिक गतिविधिको निगरानी तथा रणनीतिक दृष्टिले महत्वपूर्ण मानिएको यस भञ्ज्याङमा गोर्खाली फौजले आधार क्षेत्रका रूपमा प्रयोग गरेको स्थानीय इतिहास र जनविश्वासमा उल्लेख पाइन्छ ।
सैनिक अड्डा वा ‘थान’ राखिएको भञ्ज्याङ भएकै कारण यस ठाउँको नाम थानाभञ्ज्याङ रहन गएको स्थानीयवासीको भनाइ छ । आज पनि यहाँ पुरानो गढी, किल्ला तथा पर्खालका भग्नावशेष देख्न सकिन्छ । तर संरक्षणको अभावमा ती ऐतिहासिक अवशेषहरू क्रमशः जीर्ण बन्दै गएका छन् ।
इन्द्रावती र मेलम्ची उपत्यकाको काखमा रहेको थानाभञ्ज्याङ गढी प्राकृतिक सौन्दर्यका हिसाबले समेत आकर्षक छ । गढी क्षेत्रबाट वरपरका पहाड, उपत्यका र हिमाली शृङ्खलाको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ । ऐतिहासिक महत्वसँगै प्राकृतिक सौन्दर्य र पदयात्राको सम्भावना रहेकाले यस क्षेत्रलाई व्यवस्थित रूपमा विकास गर्न सके आकर्षक पर्यटकीय गन्तव्य बन्न सक्ने स्थानीयको विश्वास छ ।
थानाभञ्ज्याङको ऐतिहासिक पहिचानसँग जोडिएको श्री थाना भञ्ज्याङ आधारभूत विद्यालय समेत यही क्षेत्रमा सञ्चालनमा छ । विद्यालय, बस्ती र ऐतिहासिक गढीलाई जोडेर स्थानीय इतिहास, संस्कृति र पर्यटनलाई एउटै गन्तव्यका रूपमा विकास गर्न सकिने सम्भावना रहेको स्थानीय बताउँछन् ।
तर यति महत्वपूर्ण इतिहास बोकेको स्थल भए पनि राज्य तथा सम्बन्धित निकायको प्राथमिकतामा थानाभञ्ज्याङ गढी पर्न सकेको छैन । पुराना किल्ला, पर्खाल तथा गढीका अवशेष संरक्षण नहुँदा प्राकृतिक क्षयसँगै मानव गतिविधिका कारण समेत नष्ट हुँदै जाने जोखिम बढेको स्थानीयको भनाइ छ ।
‘इतिहासलाई पर्यटनसँग जोड्नुपर्छ’
स्थानीयवासीले थानाभञ्ज्याङ गढीको तत्काल पुरातात्त्विक अध्ययन गर्नुपर्ने माग गरेका छन् । गढीमा रहेका पुराना भग्नावशेषको संरक्षण, आवश्यक पुनर्निर्माण, पदमार्ग, सिँढी, विश्रामस्थल तथा अन्य आधारभूत संरचना निर्माण गरी पर्यटकमैत्री वातावरण बनाउनुपर्ने उनीहरूको जोड छ ।
स्थानीय अनिलकुमार थापाले गढीलाई बाह्रै महिना पर्यटक पुग्न सक्ने गरी पूर्वाधार निर्माण गर्नुपर्ने बताउनुभयो । उहाँका अनुसार गढीसम्म पुग्ने बाटो, सिँढीलगायतका आवश्यक संरचना निर्माण गर्न सके ऐतिहासिक स्थलको अवलोकन गर्न आउने पर्यटकको संख्या बढाउन सकिन्छ ।
“ऐतिहासिक महत्व बोकेको ठाउँ भएर पनि अहिले आवश्यक संरक्षण र प्रचार–प्रसार हुन सकेको छैन । गढीसम्म पुग्ने बाटो, सिँढीलगायतका संरचना निर्माण गरेर व्यवस्थित गर्न सके यहाँ पर्यटक आकर्षित गर्न सकिन्छ,” थापाले भन्नुभयो ।
त्यस्तै स्थानीय फुलमाया तामाङले पृथ्वीनारायण शाहको नेपाल एकीकरण अभियानसँग जोडिएका ऐतिहासिक पक्षलाई संरक्षण गर्दै थानाभञ्ज्याङलाई पर्यटकीय हबका रूपमा विकास गर्न सकिने बताउनुभयो ।
उहाँका अनुसार पुराना इतिहास र त्यससँग जोडिएका भौतिक संरचना संरक्षण गर्नु भनेको विगतलाई मात्र जोगाउनु नभई नयाँ पुस्तालाई आफ्नो इतिहास बुझाउने महत्वपूर्ण माध्यम पनि हो । “पृथ्वीनारायण शाहले नेपाल एकीकरणका लागि गरेका पुराना प्रयास र त्यससँग जोडिएको इतिहासलाई संरक्षण गरेर यो क्षेत्रलाई पर्यटकीय हबका रूपमा विकास गर्न सकिन्छ,” तामाङले भन्नुभयो ।
थानाभञ्ज्याङसम्म पदमार्गको सम्भावना
राजधानी काठमाडौ बाट नजिकै दुरिमा रहेको थानाभञ्ज्याङ हुँदै आसपासका ऐतिहासिक तथा प्राकृतिक स्थललाई जोडेर पर्यटकीय हाइकिङ ट्रेल निर्माण गर्नुपर्ने माग गरेका छन् ।
राजधानी बाट छोटो दूरीमा पुग्न सकिने गरी पदमार्ग विकास गर्न सके स्थानीय तथा बाह्य पर्यटकका लागि नयाँ गन्तव्य थपिने उनीहरूको विश्वास छ । ऐतिहासिक गढी, ग्रामीण बस्ती, प्राकृतिक दृश्य, हिमाली शृङ्खला र स्थानीय संस्कृति अवलोकन गर्न सकिने भएकाले यस क्षेत्रलाई एकदिने तथा छोटो दूरीको पदयात्रा गन्तव्यका रूपमा विकास गर्न सकिने सम्भावना छ ।
गढी परिसरमा ऐतिहासिक जानकारी दिने सूचना पाटी, नेपालको एकीकरण अभियानसँग यसको सम्बन्ध झल्काउने विवरण, पुराना संरचनाको संरक्षण तथा पर्यटकका लागि आवश्यक विश्रामस्थल निर्माण गर्नुपर्ने स्थानीयको माग छ ।
नयाँ पुस्तालाई इतिहाससँग जोड्ने अवसर
स्थानीय तहले थानाभञ्ज्याङ गढीको इतिहासलाई आफ्नो स्थानीय पाठ्यक्रममा समेटेर विद्यालय तहदेखि नै अध्ययन–अध्यापन गराउनुपर्ने मागसमेत उठेको छ । यसले स्थानीय विद्यार्थीलाई आफ्नै गाउँठाउँको इतिहास, संस्कृति र सम्पदाबारे जानकारी गराउनुका साथै संरक्षणप्रति जिम्मेवार बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
इतिहासको प्रमाणका रूपमा रहेका भग्नावशेष संरक्षण गर्दै त्यसको वैज्ञानिक अध्ययन र अभिलेखीकरण गर्न सके थानाभञ्ज्याङ गढी सिन्धुपाल्चोककै महत्वपूर्ण ऐतिहासिक सम्पदाका रूपमा स्थापित हुन सक्ने विश्वास छ ।
मेलम्ची नगरपालिका–४ को यो डाँडा केवल एउटा पुरानो भग्नावशेष भएको ठाउँ मात्र होइन, नेपाल एकीकरणको इतिहाससँग जोडिएको स्थानीय स्मृति र पहिचानको केन्द्र पनि हो । समयमै यसको खोज, अध्ययन, संरक्षण र प्रचार गर्न सके इतिहासलाई पर्यटनसँग जोड्दै स्थानीय आयआर्जनको अवसरसमेत सिर्जना गर्न सकिने देखिन्छ ।
थानाभञ्ज्याङ गढीको संरक्षण र प्रवर्द्धनले मेलम्चीको पर्यटनमा नयाँ गन्तव्य थप्ने मात्र नभई सिन्धुपाल्चोकको ऐतिहासिक पहिचानलाई राष्ट्रिय स्तरमा चिनाउन समेत महत्वपूर्ण योगदान पुर्याउन सक्ने स्थानीयको अपेक्षा छ ।

