मेलम्ची। मेलम्ची नगरपालिकामा विपद् जोखिम न्यूनीकरण, पूर्वसूचना प्रणालीको विकास तथा जलवायु उत्थानशीलता अभिवृद्धि गर्ने उद्देश्यले नगरस्तरीय विपद् व्यवस्थापन तथा जलवायु उत्थानशील समितिको बैठक सम्पन्न भएको छ। नगर प्रमुख तथा नगरस्तरीय विपद् व्यवस्थापन तथा जलवायु उत्थानशील समितिका अध्यक्ष आइतमान तामाङको अध्यक्षतामा सम्पन्न बैठकमा Regional Integrated Multi-Hazard Early Warning System (RIMES) ले SLMC परियोजनाअन्तर्गत नगरपालिकामा सञ्चालन गरेका गतिविधिबारे प्रस्तुतीकरण गरेको थियो। सोही अवसरमा विपद् जोखिम न्यूनीकरणसम्बन्धी सामग्री तथा LED स्क्रिन नगरपालिकालाई हस्तान्तरण गरिएको छ।
RIMES ले परियोजनामार्फत मेलम्ची नगरपालिकामा पूर्वसूचना प्रणालीको विकास, खोज तथा उद्धार, प्राथमिक उपचारसम्बन्धी क्षमता अभिवृद्धि, स्थानीय आपत्कालीन कार्यसञ्चालन केन्द्र स्थापना, विपद् पोर्टल तथा मौसम पूर्वानुमान प्रणालीको विकास र हावापानी मापन केन्द्र स्थापनालगायतका महत्वपूर्ण कार्य गरेको जनाएको छ।
विशेषगरी मेलम्चीको कोसेली घरबाट डिजिटल बोर्डमार्फत मौसम पूर्वानुमान तथा सम्भावित विपद्सम्बन्धी सूचना प्रवाह गर्ने व्यवस्था मिलाइएको छ। यसले बाढी, पहिरोलगायतका प्राकृतिक विपद् आउनुअघि नै नागरिकलाई सचेत गराउन तथा सम्भावित मानवीय र भौतिक क्षति न्यूनीकरण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। सामग्री हस्तान्तरण गर्दै RIMES की देशीय प्रमुख पूजा शाक्यले विपद् व्यवस्थापनमा पूर्वसूचना प्रणालीको महत्वपूर्ण भूमिका रहने बताउनुभयो। उहाँले विपद् आइसकेपछि उद्धार र राहतमा मात्रै केन्द्रित नभई विपद् आउनुअघि नै जोखिम पहिचान गरी नागरिकलाई समयमै सूचना पुर्याउन सके धेरैको ज्यान बचाउन सकिने उल्लेख गर्नुभयो। उहाँले परियोजनामार्फत स्थानीय तहको विपद् प्रतिकार्य क्षमता अभिवृद्धि, आवश्यक सामग्री आपूर्ति तथा प्रविधिको प्रयोगलाई प्राथमिकता दिइएको बताउनुभयो।
नगर प्रमुख आइतमान तामाङले मेलम्ची नगरपालिका विगतमा बाढीपहिरोलगायतका प्राकृतिक विपद्बाट प्रभावित हुँदै आएको स्मरण गर्दै विपद् जोखिम न्यूनीकरणका लागि पूर्वतयारी र पूर्वसूचना प्रणाली प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो। उहाँले प्राप्त प्रविधि, सामग्री तथा उपकरणको उचित प्रयोग गर्दै विपद् व्यवस्थापनलाई थप व्यवस्थित र प्रभावकारी बनाइने बताउनुभयो। स्थानीय स्तरमै मौसम तथा विपद्सम्बन्धी सूचना प्राप्त गर्ने, जोखिममा रहेका समुदायलाई समयमै सचेत गराउने र उद्धार तथा प्रतिकार्यलाई प्रभावकारी बनाउने उद्देश्यले सञ्चालन गरिएका यस्ता कार्यक्रमले मेलम्ची नगरपालिकाको विपद् व्यवस्थापन प्रणालीलाई थप सुदृढ बनाउने विश्वास गरिएको छ।

