काठमाडौँ महानगरपालिका वडा नं. ६ बौद्ध, कुमारीगाल अवस्थित अरुणिमा शैक्षिक प्रतिष्ठानअन्तर्गत सञ्चालित अरुणिमा माध्यमिक विद्यालयको अभिभावक दिवस विशिष्ट व्यक्तित्व अभिनन्दन, अरुणिमा स्मारिका अङ्क-८ लोकार्पण एवम् विविध सांस्कृतिक कार्यक्रमहरूको प्रस्तुतिसहित २०८२ साल फागुन ९ गते सम्पन्न भयो । वरिष्ठ चित्रकार श्री हरिप्रसाद शर्माज्यूको प्रमुख आतिथ्य तथा प्रतिष्ठानका अध्यक्ष श्री भीमानन्द ढुङ्गानाको अध्यक्षतामा सञ्चालित उक्त कार्यक्रमको समुद्घाटन विद्यार्थीहरूबाट शान्ति स्वस्तिवाचन एवम् सभाध्यक्ष, प्रमुख अतिथि, प्रतिष्ठानका संरक्षक, कार्यकारी प्रिन्सिपल एवम् अन्य विशिष्ट व्यक्तित्वहरूबाट दिप प्रज्वलनहित सम्पन्न भयो। हेड गर्ल कक्षा १० की छात्रा श्री सुवास्ना सुवेदीले उपस्थित सम्पूर्ण अतिथि, अभिभावक एवम् सज्जनवृन्दमा स्वागत अर्पण गर्नुभयो। नर्सरीदेखि कक्षा १२ सम्मका छात्र-छात्राहरूबाट प्रस्तुत भएका नृत्य, गीत, नाटक, योग, चिनियाँ नृत्य, स्काउट पिरामिड, तेक्वान्दो लगायतका सामाजिक, सांस्कृतिक तथा मानवीय संवेदनाहरूमा आधारित संदेशमूलक प्रस्तुतिहरूले गुन्जायमान सो कार्यक्रमको अवलोकन २००० भन्दा बढी व्यक्तित्वहरूले गर्नुभएको थियो। उक्त अवसरमा विद्यालयका प्रिन्सिपल श्री बुद्धिप्रसाद रेग्मीले विद्यालयमा भएका प्रशासनिक, शैक्षिक तथा अतिरिक्त क्रियाकलापसम्बन्धी समग्र वार्षिक गतिविधिहरूको बारेमा प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा प्रतिष्ठानका संरक्षक, शिक्षाप्रेमी एवम् समाजसेवी श्री बुद्धिबहादुर (अमिर) थापा, नेपाल सरकारका पूर्व सहसचिव श्री विश्वनाथ अर्याल र समाजसेवी शताब्दी पुरुष श्री नारायणप्रसाद लामिछानेलाई विशिष्ट व्यक्तित्व सम्मानद्वारा अभिनन्दन गरिएको थियो । सो अवसरमा अरुणिमा शैक्षिक प्रतिष्ठानअन्तर्गतका विद्यालयका विद्यार्थी, अभिभावक, शिक्षक-कर्मचारी, गुठियार एवम् अतिथि सर्जकहरूका विविध विधाका लेख/रचनाहरू सङ्ग्रहित पुस्तक अरुणिमा स्मारिका अङ्क-८ को लोकार्पण समेत गरिएको थियो ।
कार्यकारी प्रिन्सिपल श्री ईश्वरीप्रसाद लामिछानेले अरुणिमा स्मारिका अङ्क-८ मा समावेश भएका रचनाहरूका वारेमा विस्तृत रूपमा प्रकाश पार्नुका साथै कार्यक्रममा गरिमामय उपस्थितिका निमित्त सम्पूर्ण महानुभावहरूलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो। अभिनन्दित व्यक्तित्व श्री विश्वनाथ अर्यालले विद्यार्थीहरूको चौतर्फी विकासका लागि विद्यालयले आयोजना गर्ने गरेका विविध सिर्जनात्मक कार्यक्रमहरूको खुलेर प्रशंसा गर्नुका साथै बालबालिकाहरूको उज्ज्वल भविष्यका निमित्त उनीहरूको मनोभावना बुझेर ज्ञान तथा सिपको अभिवृद्धिमा व्यवस्थापन पक्ष निरन्तर लागिरहोस् भन्ने विचार व्यक्त गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ चित्रकार श्री हरिप्रसाद शर्माले विद्यार्थीहरूका प्रशंसनीय सिर्जनात्मक प्रस्तुतिहरूले अरुणिमाको गौरव बढाएको धारणा व्यक्त गर्दै उपस्थित सम्पूर्ण व्यक्तित्वहरूलाई सक्रिय तथा सावधानी जीवन जिउनका निमित्त सल्लाह दिनुभयो । कार्यक्रमका अध्यक्षले प्रतिष्ठानको प्रगतिमा गुठियार, सल्लाहकार, शिक्षक-कर्मचारी, अभिभावक लयायत शुभेच्छुकहरूको महत्त्वपूर्ण योगदान रहेको कुरामा जोड दिँदै गुणस्तरीय शिक्षा प्रदान गर्ने कार्यलाई अझ व्यवस्थित गर्नका निमित्त विद्यालयको पूर्वाधार विकासमा प्रतिष्ठान सञ्चालकहरू निरन्तररूपमा लागिरहेको विचार व्यक्त गर्नुभयो। साथै उहाँले अभिनन्दित व्यक्तित्वहरूलाई वधाई ज्ञापन गर्नुका साथै विविध मनोरञ्जनात्मक सांस्कृतिक प्रस्तुतिमा सहभागी विद्यार्थीहरू लगायत कार्यक्रमलाई सफलताका साथ सम्पन्न गर्न उपस्थित सम्पूर्ण महानुभावहरूलाई धन्यवाद व्यक्त गर्दै कार्यक्रमको समापन गर्नुभयो ।
