सिन्धुपाल्चोक क्षेत्र नम्बर २ अन्तर्गत घरदैलो अभियानका क्रममा विभिन्न गाउँ–बस्तीमा पुगेका तामाङसमक्ष किसानहरूले बँदेल र बाँदरको आतङ्कबारे गुनासो राखेका छन्। मेलम्ची, हेलम्बु र पाँच पोखरी थाङपाल गाउँपालिका का कृषकहरूले मकै, आलु, गहुँ तथा अन्य बालीमा व्यापक क्षति पुगेको बताएका हुन्।
घरदैलो कार्यक्रमअन्तर्गत मतदातासँग भेटघाट गर्दै हिँडेका तामाङसमक्ष स्थानीयले प्रत्यक्ष रूपमा आफ्ना समस्या राखेका थिए। हेलम्बुका कृषक रञ्जन लामिछानेले रातदिन खेत कुरेर बस्दा पनि बाली जोगाउन नसकेको गुनासो व्यक्त गर्नुभयो।
किसानको समस्या सुनेपछि तामाङले सम्बन्धित निकायसँग समन्वय गरी प्रभावित क्षेत्रमा आवश्यक प्राविधिक तथा कानुनी प्रक्रिया अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। “क्षतिपूर्ति वितरणलाई सहज बनाइनेछ र सामूहिक तार बार कार्यक्रमलाई विस्तार गरिनेछ,” उहाँले भन्नुभयो।
दीर्घकालीन समाधानका लागि जङ्गल क्षेत्रमा ‘ फ्रुट फरेस्ट (fruit forest) अवधारणा लागू गर्ने योजना अघि सार्दै तामाङले वनभित्रै बाँदर तथा अन्य वन्यजन्तुलाई आवश्यक प्राकृतिक आहार उपलब्ध गराउने व्यवस्था मिलाइने बताउनुभयो। “वनमै पर्याप्त आहार उपलब्ध गराइए जनावरहरू बस्ती र खेतीयोग्य जमिनतर्फ आकर्षित हुँदैनन्,” उहाँको भनाइ छ।
त्यस्तै, बाँदर नियन्त्रणका लागि वैज्ञानिक अध्ययनका आधारमा व्यवस्थापन योजना तयार गरिने, आवश्यक परे स्थानान्तरण, वासस्थान व्यवस्थापन तथा सामुदायिक सहभागितामा नियन्त्रण कार्यक्रम सञ्चालन गरिने उहाँले स्पष्ट पार्नुभयो।
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा किसानका यी गुनासाहरू प्रमुख चुनावी मुद्दाका रूपमा अघि आएका छन्। स्थानीयले यस पटक आफ्ना समस्यामा ठोस पहल हुने अपेक्षा व्यक्त गरेका छन्।