इन्द्रेश्वरी माध्यमिक विद्यालय मेलम्चीको ५२ औँ वार्षिकोत्सव तथा २६ औं अभिभावक भेला सम्पन्न भएको छ । कार्यक्रम उद्घाटनमा मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ , उपप्रमुख उमा प्रधान र पूर्वराज्यमन्त्री इन्द्रमाया गुरुङ लगायतको उपास्थिति रहेको थियो ।
कार्यक्रममा सम्बोधन गर्दै बक्ताहरुले गुणस्तरीय शिक्षाका लागि सबैको प्रयत्न जरुरी रहेको बताउनुभयो । एक पक्षले मात्र शिक्षा सुधार नहुने भएकाले अभिभावक , शिक्षक , विद्यार्थी र सरोकारवालाको सहकार्यले मात्र गुणस्तर कायम गर्न सकिने बताउनुभयो ।
कार्यक्रमका अवसरमा शिक्षा, सामाजिक सेवा र विद्यालयको समग्र विकासमा उल्लेखनीय योगदान पुर्याउने शिक्षक, एवम् सहयोगी व्यक्तित्वहरूलाई सम्मान गरिएको छ।
कार्यक्रमका प्रमुख अतिथि, विद्यालय व्यवस्थापन समिति र अभिभावकहरूको उपस्थितिमा सम्पन्न सो समारोहमा उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गराउने शिक्षकहरूलाई विशेष सम्मान प्रदान गरिएको विद्यालयले जानकारी दिएको छ।
उत्कृष्ट नतिजा दिलाउने शिक्षकहरू सम्मानित
राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित वि.स. २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (कक्षा १०) मा उत्कृष्ट नतिजा दिलाउन सफल शिक्षकहरूलाई सम्मान गरिएको थियो।
• श्री ठाकुरप्रसाद पौडेल, प्राविधिक धारतर्फ नेपाली विषयमा औसत GP ३.५० सहित उत्कृष्ट नतिजा दिलाएबापत सम्मानित, श्री लेखनाथ भट्टराई, साधारण धारतर्फ सामाजिक अध्ययन विषयमा औसत GP ३.१० सहित उत्कृष्ट नतिजा दिलाएबापत सम्मानित, त्यस्तै, मेलम्ची नगरपालिकाद्वारा सञ्चालित कक्षा ८ को आधारभूत तह उत्तीर्ण परीक्षामा श्री रमेशबहादुर घलेले सामाजिक अध्ययन तथा मानवमूल्य शिक्षा विषयमा औसत gpa ३.२१ सहित उत्कृष्टता प्रर्दशन गराएबापत सम्मान प्राप्त गरे।
सहयोगी व्यक्तित्वहरूलाई सम्मान
विद्यालयका विद्यार्थीहरूका लागि सहयोग पु¥याउने समुदायका व्यक्तित्वहरूलाई समेत विशेष सम्मान गरिएको थियो।
• श्री जनकलाल श्रेष्ठ, प्रोप्राइटर, श्रीदेवी ट्रेड एण्ड सप्लायर्स, मेलम्चीलाई आधारभूत तहका विद्यार्थीहरूका लागि ट्रयाकसुट सहयोग गरी योगदान पुर्याएकोमा वापत सम्मान गरियो।
• डा. गङ्गादत्त नेपाल, अध्यक्ष, बिनोद नेपाल फाउन्डेसनलाई विद्यालयको प्राविधिक धारमा अध्ययनरत विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरी आर्थिक रूपले सबल नहुने विद्यार्थीहरूलाई अवसर सृजना गरेबापत सम्मान प्रदान गरिएको थियो।
पूर्व शिक्षक तथा पूर्व विद्यालय नर्सलाई बिदाइ–सम्मान
दीर्घकालीन शिक्षण सेवाबाट योगदान पुर्याई अनिवार्य अवकाश प्राप्त गर्नुभएकी कमला कुमारी नेपाल (चालिसे) लाई शिक्षण सेवामा करिब चार दशक लामो समर्पित योगदानका लागि सम्मान–पत्र प्रदान गरिएको थियो।
त्यस्तै, विद्यालय नर्सका रूपमा सेवा पुर्याई हाल प्रदेश लोक सेवा आयोगबाट नेपाल नर्सिङ सेवा चौथो तह (अनमी) पदमा सिफारिस भई पेशागत उन्नति हासिल गर्नुभएकी मनिषा भण्डारी लाई समेत बिदाइ–सम्मान गरिएको थियो।
विद्यालयको तर्फबाट शुभकामना
विद्यालयका प्रमुख तथा संयोजकहरूले सम्मानित शिक्षक, सहयोगी तथा कर्मचारीहरूलाई हार्दिक शुभकामना दिँदै विद्यालयको चौतर्फी विकासका लागि निरन्तर सहयोग र साथको अपेक्षा व्यक्त गरे।
कार्यक्रमको अन्त्यमा सम्मान प्राप्त सबै व्यक्तित्वहरूलाई विद्यालय परिवारको तर्फबाट सुस्वास्थ्य, दीर्घायु र उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरिएको थियो।
यी सम्मानहरूले विद्यालय र समुदायबीचको सम्बन्ध अझ सुदृढ बनाउने विश्वास गरिएको छ।
कार्यक्रमको अवसरमा जिल्लाका दुईजना पत्रकारहरू सम्मानित भएका छन्। एक दशकदेखि पत्रकारितामा क्रियासिल पत्रकार दिपक खत्री र विजय नेपाल हुतराज–अर्धचन्द्र पाण्डे पत्रकारिता स्मृति पुरस्कार– २०८१ बाट सम्मानित हुनुभएको हो ।
अनाथ बालबालिकाको शैक्षिक गतिविधि र विभिन्न सामाजिक सेवामा योगदान गर्दै आएको हुतराज–अर्धचन्द्र जनहितकारी संस्थाले खत्री र नेपाललाई पाँच हजार एक सय नगदसहितसम्मान गरेको हो। विजय नेपाल खुल्लापाना डटकममा, दीपक खत्री रेडियो सिन्धु र न्यूज २४ टेलिभिजन कार्यरत हुनुहुन्छ ।
त्यस्तै साहित्य तथा कवितामार्फत समाजलाई चेतना प्रदान गर्दै आएका कवि राजेन्द्र प्रसाद भट्टराई ‘रापी बसिष्ठ’ (मेलम्ची–१३, फाटकशिला) तथा शिक्षण पेशामार्फत विद्यार्थी निर्माणमा योगदान पु¥याउँदै आएका कपिल कृष्ण श्रेष्ठ (शिक्षक, श्री इन्द्रेश्वरी मावि) लाई पनि सम्मान गरिएको हो ।
संस्थाले इन्द्रेश्वरी माध्यमिक विद्यालय, मेलम्ची ११ का ९ जना छात्र–छात्रालाई प्रदान गर्दै आएको वार्षिक छात्रवृत्तिका समेत वितरण गरेको छ ।
कार्यक्रमले शिक्षा, पत्रकारिता, साहित्य र शिक्षण पेशामा योगदान पु¥याउने व्यक्तित्वहरूको कदर गर्नुका साथै विद्यार्थीहरूलाई प्रेरणा दिने विश्वास आयोजक संस्थाले लिएको छ । संस्थाले प्रत्येक वर्ष जिल्लामा क्रियाशील पत्रकार र साहित्यकारलाई सो पुरस्कारद्वारा सम्मान गर्दै आएको संस्थाका सचिव सुदर्शन पाण्डेले बताउनुभयो। ।
हुतराज र अर्धचन्द्र पाण्डेले मेलम्चीस्थित इन्द्रेश्वरी माध्यमिक विद्यालयका लागि तीन रोपनी जमिन दान गरेका थिए । नेपाल प्रहरीका पूर्वएआइजी गंगा पाण्डे, पूर्वएसपी सुदर्शन पाण्डे, मुरारी पाण्डे र शम्भु पाण्डेले दिवंगत पिताको नाममा ०६८ मा परोपकारी संस्था स्थापना गरेका थिए । संस्थाले बाढीपहिरोपीडित, दृष्टिविहीन, अशक्त, अनाथ र वृद्धवृद्धालाई आर्थिक सहायता प्रदान गर्दै आएको छ । यसका अलावा पत्रकार, साहित्यकारलाई योगदानको आधारमा छनोट गरेर पुरस्कृत पनि गर्दै आएको छ।
विद्यालयको ५२औँ वार्षिकोत्सव तथा २६औँ अभिभावक भेलामा बिद्यालयका प्रधानाध्यापक देवी श्रेष्ठले प्रतिवेदन प्रस्तुत गर्नुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सानीमैया पण्डितको अध्यक्षतमा कार्यक्रम सम्पन्न भएको हो ।






