सिन्धुपाल्चोक । एक दशकदेखि पत्रकारितामा क्रियासिल पत्रकार दिपक खत्री र विजय नेपाल हुतराज–अर्धचन्द्र पाण्डे पत्रकारिता स्मृति पुरस्कार– २०८१ बाट सम्मानित भएका छन्। अनाथ बालबालिकाको शैक्षिक गतिविधि र विभिन्न सामाजिक सेवामा योगदान गर्दै आएको हुतराज–अर्धचन्द्र जनहितकारी संस्थाले खत्री र नेपाललाई पाँच हजार एक सय नगदसहितसम्मान गरेको हो। विजय नेपाल खुल्लापाना डटकममा , दीपक खत्री रेडियो सिन्धु र न्यूज २४ टेलिभिजन कार्यरत छन् ।
त्यस्तै साहित्य तथा कवितामार्फत समाजलाई चेतना प्रदान गर्दै आएका कवि राजेन्द्र प्रसाद भट्टराई ‘रापी बसिष्ठ’ (मेलम्ची–१३, फाटकशिला) तथा शिक्षण पेशामार्फत विद्यार्थी निर्माणमा योगदान पु¥याउँदै आएका कपिल कृष्ण श्रेष्ठ (शिक्षक, श्री इन्द्रेश्वरी मावि)लाई पनि सम्मान गरिएको हो ।
संस्थाले इन्द्रेश्वरी माध्यमिक विद्यालय, मेलम्ची ११ का ९ जना छात्र–छात्रालाई प्रदान गर्दै आएको वार्षिक छात्रवृत्तिका समेत वितरण गरेको छ ।
कार्यक्रमले शिक्षा, पत्रकारिता, साहित्य र शिक्षण पेशामा योगदान पु¥याउने व्यक्तित्वहरूको कदर गर्नुका साथै विद्यार्थीहरूलाई प्रेरणा दिने विश्वास आयोजक संस्थाले लिएको छ। संस्थाले प्रत्येक वर्ष जिल्लामा क्रियाशील पत्रकार र साहित्यकारलाई सो पुरस्कारद्वारा सम्मान गर्दै आएको संस्थाका सचिव सुदर्शन पाण्डेले बताए ।
हुतराज र अर्धचन्द्र पाण्डेले मेलम्चीस्थित इन्द्रेश्वरी माध्यमिक विद्यालयका लागि तीन रोपनी जमिन दान गरेका थिए । नेपाल प्रहरीका पूर्वएआइजी गंगा पाण्डे, पूर्वएसपी सुदर्शन पाण्डे, मुरारी पाण्डे र शम्भु पाण्डेले दिवंगत पिताको नाममा ०६८ मा परोपकारी संस्था स्थापना गरेका थिए। संस्थाले बाढीपहिरोपीडित, दृष्टिविहीन, अशक्त, अनाथ र वृद्धवृद्धालाई आर्थिक सहायता प्रदान गर्दै आएको छ। यसका अलावा पत्रकार, साहित्यकारलाई योगदानको आधारमा छनोट गरेर पुरस्कृत पनि गर्दै आएको छ।
इन्द्रेश्वरी माध्यमिक विद्यालय मेलम्चीको ५२औँ वार्षिकोत्सव समारोहमा संस्थाले कार्यक्रम आयोजना गरेको थियो। मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ र पूर्वराज्यमन्त्री इन्द्रमाया गुरुङले वार्षिकोत्सवको उद्घाटन गरेका थिए।