मेलम्ची । श्री जलवाई देवी माध्यमिक विद्यालयको ५१औँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ।मेलम्ची नगरपालिका उपप्रमुख उमा प्रधानको प्रमुख आतिथ्यतामा कार्यक्रम सञ्चालन गरिएको थियो। विशेष अतिथिको रूपमा शिक्षा शाखा प्रमुख लक्ष्मीप्रसाद रिजाल सहभागी हुनुभयो ।
वार्षिकोत्सव समारोहमा विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष तथा पूर्व वडा अध्यक्ष ठंकराज गिरीले विद्यालयको वर्तमान अवस्था र भावी योजनाबारे धारणा राख्नु भएकाे थियाे ।उहाँले विद्यालयको स्तरोन्नती, शैक्षिक गुणस्तर सुधार र भौतिक पूर्वाधार विकासका लागि सबै अभिभावक, शिक्षक, विद्यार्थी र स्थानीय समुदाय एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो।
कार्यक्रमका अवसरमा भुलायुनिक अर्जुन बैरागी अक्षय कोषमार्फत पाँच जना जेहेन्दार तथा आर्थिकरूपमा कमजोर विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको थियो। अक्षय कोषका संरक्षक अर्जुन गिरी र सर्वोत्कृष्ट चन्दादाता तारानाथ गिरीलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो।
यसैगरी, १०औँ राष्ट्रिय कराते च्याम्पियनसिप प्रतियोगितामा पदक जित्न सफल आठ जना विद्यार्थीलाई पनि विशेष सम्मान प्रदान गरियो । विद्यालयका प्रधानाध्यापक सुरेन्द्रबहादुर खड्काले आर्थिक तथा प्रगति प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयले वर्षभरि गरेका शैक्षिक उपलब्धी र गतिविधिबारे विस्तृत जानकारी गराउनु भयो ।
यस वर्ष विद्यालयलाई महत्वपूर्ण सहयोग पुर्याउने विभिन्न सहयोगी संस्था तथा निकायहरूलाई पनि सम्मान गरिएको थियो । साेही क्रममा क्याउरानी युवा समाज, आकाश निर्माण सेवा प्रा.लि., मेलम्ची नगरपालिका, मेलम्ची वडा नं. ८ र टप दरबार रोदी क्लबलाई सम्मान–पत्र प्रदान गरियो ।
कार्यक्रममा विद्यार्थीहरूले कराते काता, योगा, नृत्य तथा गायनजस्ता सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए, जसले सम्पूर्ण माहोललाई उत्सवमय बनाएको थियो । समारोहमा पूर्व विद्यार्थी दिनेश गिरी, शिक्षा शाखा प्रमुख लक्ष्मीप्रसाद रिजाल तथा उपप्रमुख उमा प्रधानले शुभकामना व्यक्त गर्नुभएको थियो ।
२०७२ साल वैशाख १२ को विनाशकारी भूकम्पमा ज्यान गुमाएका आमा भुलाकुमारी गिरी र छोरा युनिक गिरीको स्मृतिमा स्थापना गरिएको “भुलायुनिक अर्जुन बैरागी अक्षयकोष” मार्फत टुहुरा तथा विपन्न बालबालिकालाई हरेक वर्ष विद्यालयको वार्षिकोत्सवका अवसरमा छात्रवृत्ति प्रदान गरिँदै आएको अक्षयकोषका सदस्य सुवास गिरीले जानकारी दिनुभयो। उहाँका अनुसार, आर्थिक अभावका कारण पढाइमा कठिनाइ भोगिरहेका बालबालिकाको शैक्षिक भविष्य सुरक्षित गर्न यो अक्षयकोष निरन्तररूपमा क्रियाशील रहेको छ। विद्यालयको ५१औँ वार्षिकोत्सवले शैक्षिक सुधार र सामुदायिक एकताको सन्देश प्रवाह गर्दै सफलतापूर्वक समापन भएको छ। कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक सुवास गिरीले गर्नुभएको थियो ।
