आगामी फाल्गुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले सिन्धुपाल्चोक जिल्ला क्षेत्र नम्बर १ बाट युवा नेता आङदोर्जे शेर्पालाई उम्मेदवार बनाएको छ। शनिबार सिन्धुपाल्चोक–१ का शीर्ष नेताहरूको उपस्थितिमा बौद्धिक, शालीन र ऊर्जाशील नेताका रूपमा परिचित शेर्पालाई चुनावी मैदानमा उतारिएको हो। एमालेको ११औँ महाधिवेशनमा जिल्लाबाट अत्यधिक लोकप्रिय मत प्राप्त गर्दै महाधिवेशन प्रतिनिधि निर्वाचित भएका शेर्पा लामो समयदेखि पार्टी संगठनको तल्ला तहमा बसेर जरा मजबुत बनाउने अभियानमा सक्रिय रहँदै आएका छन्। गाउँ–गाउँमा संगठन विस्तार, जनसम्पर्क र सामाजिक उत्तरदायित्वमा निरन्तर सक्रियताकै कारण उनी नयाँ पुस्ताले खोजिरहेको सक्षम, भरोसायोग्य र भविष्यदर्शी नेतृत्वका रूपमा उदाएका छन्। प्रतिनिधि सभाको टिकटसँगै उनले युवाको आवाज, आकांक्षा र परिवर्तनको चाहनालाई संस्थागत प्रतिनिधित्व दिएको रूपमा हेरिएको छ। युवा संघमा जिम्मेवार भूमिकादेखि एमाले जिल्ला कमिटीको सचिवालय सदस्य तथा आर्थिक विभाग प्रमुखसम्मको जिम्मेवारी सम्हाल्दै आएका शेर्पाले पार्टीको आर्थिक प्रणाली, पारदर्शिता र व्यवस्थापनमा उल्लेखनीय योगदान दिएका छन्। योजनाबद्ध संरचना, वित्तीय अनुशासन र क्षमता विकास अभियानमा उनको सक्रियता संगठनभित्र उच्च प्रशंसित छ। साथै, नेपाल शेर्पा संघका केन्द्रीय कोषाध्यक्षका रूपमा समुदाय–केन्द्रित परियोजना, संरक्षण अभियान र सांस्कृतिक विकासमा योगदान पुर्याउँदै आएका उनी नेपाल हिमालय सिमापार व्यापार व्यवसाय संघका सचिवका रूपमा सीमापार व्यापार, स्थानीय उद्यमशीलता र व्यावसायिक सहजताका मुद्दा उठाउँदै आएका छन्। २०७२ सालको विनाशकारी भूकम्प होस् वा कोरोना महामारीजस्ता राष्ट्रिय विपत्तिका समय—शेर्पाको भूमिका र योगदान सिन्धुपाल्चोक–१ मा उल्लेखनीय रहँदै आएको स्थानीयवासी बताउँछन्। उद्धार, राहत, पुनर्स्थापना तथा मानवीय सहयोगमा अग्रसर रहेका उनी सामाजिक सेवामा पनि उत्तिकै सक्रिय छन्। संकटका घडीमा राजनीति भन्दा माथि उठेर जनतासँगै उभिने उनको व्यवहारले उनीप्रति जनविश्वास अझ गहिरिएको छ। यसपटक शेर्पाको उम्मेदवारीले एमाले कार्यकर्ता मात्र होइन, सिन्धुपाल्चोकका व्यवसायी, राजनीतिज्ञ, युवा तथा विभिन्न राजनीतिक दलका शुभेक्षकहरू समेत उत्साहित बनेका छन्। आफ्नो क्षेत्रमा व्यावसायिक रूपमा सफल भइसकेका, दुर्गम भेगमा जन्मिएर भूगोल, समस्या र सम्भावना नजिकबाट बुझेका तथा आम जनतासँग निरन्तर जोडिँदै आएका शेर्पालाई धेरैले भूमिबाट उठेको नेतृत्वका रूपमा हेरेका छन्। प्रचारभन्दा कर्ममा विश्वास गर्ने उनको शैली र परिणाममुखी सोचले दलगत सीमाभन्दा बाहिरसम्म सकारात्मक सन्देश दिएको स्थानीयहरू बताउँछन्। सफल युवा व्यवसायीका रूपमा स्थापित शेर्पाले नेतृत्व क्षमता, व्यवस्थापन दक्षता र दीर्घ अनुभवलाई पार्टीका विभिन्न तहमा रूपान्तरण गर्दै आएका छन्। उनको कार्यशैली, दृष्टि र प्रतिबद्धताले युवामाझ नयाँ ऊर्जा सिर्जना गरेको छ। यही कारण समर्थक मात्र होइन, पार्टीका वरिष्ठदेखि युवा पुस्तासम्मले उनको उम्मेदवारीलाई परिवर्तन, नवप्रवर्तन र भावी नेतृत्व निर्माणको सशक्त विकल्पका रूपमा हेरिरहेका छन्। तातोपानी नाकाबाट व्यवसाय सुरु गरेका शेर्पा सिन्धुपाल्चोक–१ कै एक दुर्गम बस्तीमा जन्मिएका हुन्। स्थानीय समस्या, आवश्यकता र सम्भावनाको गहिरो ज्ञान भएका उनले युवावस्थामै आफ्नै व्यवसायमा उल्लेखनीय सफलता हासिल गरेका छन्। विभिन्न संघ–संस्थामा नेतृत्वदायी भूमिका निर्वाह गर्दै कुशल व्यवस्थापक र सक्षम नेतृत्वकर्ताको पहिचान बनाएका उनी अब प्रतिनिधि सभामार्फत देश र जनताका लागि योगदान गर्न चाहन्छन्। गत २०७९ को निर्वाचनमा गठबन्धन दलसँग प्रतिस्पर्धा गर्दा एमालेले झिनो मतान्तरले पराजय भोग्नुपरेको पृष्ठभूमिमा यसपटक नयाँ अनुहार र युवा नेतृत्वलाई अघि सार्दै पार्टीले समयको माग र आवश्यकताका आधारमा शेर्पालाई उम्मेदवार बनाएको बताइएको छ। उम्मेदवारी सार्वजनिक भएपछि शेर्पाले भने, “सिन्धुपाल्चोक–१ का सम्पूर्ण जनताको बीचमा मेरो पार्टी एमालेले पहिलो पटक मलाई उम्मेदवारका रूपमा प्रस्तुत गरेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित समग्र नेतृत्वप्रति आभार व्यक्त गर्दछु। यो अवसर मेरो मात्र होइन, सम्पूर्ण आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूको हो। सबैको गहिरो साथ र समर्थन चाहन्छु। तपाईँहरूको मतको इज्जत राख्दै प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धताका साथ सिन्धुपाल्चोक–१ का जनतासँग अमूल्य मत माग्दछु।” उम्मेदवारीबारे स्थानीय एमाले नेता तथा कार्यकर्ताहरू भन्छन्, “विपत्तिका बेला जनतासँगै उभिने, भूगोल बुझ्ने र विकास तथा समाजलाई एकैसाथ अघि बढाउन सक्ने बौद्धिक तागत आङदोर्जे शेर्पामा छ। उहाँको उम्मेदवारीले सिन्धुपाल्चोक–१ मा नयाँ ऊर्जा, भरोसा र आशा पैदा गरेको छ।” युवा जोश, व्यावसायिक सफलता, सामाजिक प्रतिबद्धता र संगठनात्मक अनुभवको संगमका रूपमा आङदोर्जे शेर्पाको उम्मेदवारीलाई आज सिन्धुपाल्चोकवासीले निराशाबीच पलाएको नयाँ आशा र भरोसायोग्य विकल्पका रूपमा हेर्न थालेका छन्।