चौतारा साँगाचोकगढी नगरपालिकाले चालू आर्थिक वर्ष २०८२/०८३ को श्रावणदेखि हालसम्म सम्पादन भएका कार्यहरूको अर्धवार्षिक प्रगति विवरण सार्वजनिक गरेको छ । नगरपालिकाको आयोजनामा सम्पन्न कार्यक्रममा नगर उपप्रमुख सीता थापाले विभिन्न विषयगत क्षेत्रको संक्षिप्त तर तथ्यगत प्रगति प्रतिवेदन प्रस्तुत गरे ।
उपप्रमुख सीता थापाले सामाजिक सुरक्षा, पञ्जीकरण, सहकारी, राजश्व संकलन, वित्तीय प्रगति, शिक्षा, स्वास्थ्य, कृषि, पशु सेवा, विपद् व्यवस्थापन, न्यायिक समिति, उद्यम विकास, सूचना प्रविधि तथा भौतिक पूर्वाधार लगायतका क्षेत्रमा भएको प्रगतिबारे जानकारी दिइन् । उनका अनुसार चालू आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्म नगरपालिकाका १४ वटै वडाका सामाजिक सुरक्षा लाभग्राहीहरूले सहज रूपमा भत्ता प्राप्त गरेका छन् भने १२२ जना नयाँ लाभग्राही सामाजिक सुरक्षा प्रणालीमा दर्ता भएका छन् ।
पञ्जीकरणतर्फ जन्म, विवाह, बसाइँसराइ, सम्बन्ध विच्छेद र मृत्यु गरी हालसम्म ८८० वटा घटना अनलाइन प्रणालीमार्फत दर्ता गरिएको छ । सहकारी क्षेत्रमा ४५ वटा सहकारी कोपोमिस प्रणालीमा आबद्ध भएका छन् भने चालू आ.व.मा १४ वटा सहकारी सूचीकरण गरिएको जानकारी दिइयो।
राजश्वतर्फ इन्द्रावती र सुनकोशी नदीका दहत्तर–बहत्तर ठेक्कासहित बाट र नगरपालिकाको विविध आन्तरिक आय गरी हालसम्म कुल ६ करोड ७९ लाख रुपैयाँभन्दा बढी राजश्व संकलन भएको प्रतिवेदनमा उल्लेख छ । वित्तीय प्रगतितर्फ कुल विनियोजित बजेटको २८.३९ प्रतिशत खर्च भइसकेको जनाइएको छ ।
कार्यक्रममा बोल्दै नगर प्रमुख कृष्णप्रसाद सापकोटाले नगरपालिकाले सीमित स्रोत–साधनका बाबजुद नागरिकको दैनिकीसँग प्रत्यक्ष जोडिने सेवामा प्राथमिकता दिएको बताए ।
उनले भने “हामी विकासलाई कागजमा होइन, नागरिकको जीवनमा देखिने परिणामका रूपमा अघि बढाइरहेका छौँ,” ।नगर प्रमुख सापकोटाले शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा र पूर्वाधारमा देखिएको प्रगति सामूहिक प्रयासको परिणाम भएको बताउदै आगामी दिनमा अझ पारदर्शी, उत्तरदायी र जनमुखी सेवा प्रवाहमा जोड दिने जनाए ।
साथै उनले वित्तीय अनुशासन, प्रविधिमैत्री प्रशासन र लक्षित वर्गमुखी कार्यक्रमलाई थप प्रभावकारी बनाइने प्रतिबद्धता पनि व्यक्त गरे ।
अर्धवार्षिक प्रगति प्रतिवेदन अनुसार नगरपालिकाले स्वास्थ्य क्षेत्रमा निःशुल्क आँखा शिविर, फिजियोथेरापी सेवा, भि.आइ.ए परीक्षण, स्वास्थ्य बीमा, बालबालिका पोषण कार्यक्रम तथा जेष्ठ नागरिक स्वास्थ्य परीक्षण सञ्चालन गरेको छ भने शिक्षा तर्फ नगरस्तरीय परीक्षा व्यवस्थापन, शिक्षक तालिम, राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता, आईसीटी ल्याब तथा शैक्षिक क्यालेन्डर कार्यान्वयन गरिएको छ ।
भौतिक पूर्वाधारतर्फ नयाँ सडक ट्र्याक खोल्ने, सडक स्तरोन्नति, शीत भण्डार निर्माण, नाली, ढलान, गोरेटो बाटो र सामुदायिक भवन निर्माण सम्पन्न भएका छन् । साथै, विपद् व्यवस्थापन, न्यायिक समितिको सक्रियता, उद्यम विकास तथा सूचना प्रविधिमार्फत सेवा प्रवाहलाई प्रभावकारी बनाउने प्रयास जारी रहेको नगरपालिकाले जनाएको छ ।
कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो । नगरपालिकाले आगामी अर्धवार्षिक र वार्षिक समिक्षामा अझ ठोस परिणाम देखिने गरी कामलाई तीव्रता दिने जनाएको छ ।