तामाङ समुदायको मौलिक संस्कार, संस्कृति र पहिचानलाई समेटिएको खान्दोके सेलो गीत ‘तामाङ पाराले’ सार्वजनिक भएको छ। खान्दोके सेलोका लोकप्रिय गायक आस्मान लोप्चनको शब्द, लय तथा स्वरमा तयार भएको गीतमा गायिका रोस्ना लुङ्बाले स्वरमा साथ दिएकी छन्।
गीतको एरेञ्ज र मिक्सिङ अर्पण थिङ तामाङले गरेका हुन् भने रेकर्डिङ अर्पण स्टुडियोमा सम्पन्न गरिएको हो। भिडियो तर्फ भने गायक लोप्चन स्वयंले निर्देशन गर्दै मुख्य भूमिकामा अभिनय समेत गरेका छन्। भिडियोमा डोमा ह्योल्मो, प्रीतम गोले तामाङ, सुनिता लुङ्बा, तबु ग्याबा, मिलन थिङ पाराङ र मन्सु लामाको अभिनय देख्न सकिन्छ। साथै अतिथि कलाकारका रूपमा फुलमान तामाङ, देव लामा, पासाङ तामाङ, निला स्याङ्बो, मीनबहादुर तामाङ लगायतको सहभागिता रहेको छ।
गीतको भिडियोमा तामाङ समुदायको परम्परागत विवाह संस्कारलाई कलात्मक ढंगले प्रस्तुत गरिएको छ। गायक लोप्चनका अनुसार, आधुनिकीकरणको नाममा मौलिक विवाह संस्कारमा देखिँदै आएको विकृतिलाई अस्वीकार गर्दै आफ्नो पहिचान जोगाउनुपर्ने सन्देश भिडियोमार्फत दिन खोजिएको हो।
भिडियोमा तामाङ संस्कारका अभिन्न अंग ताम्बा, डम्फुरे र चारदामलाई यथार्थपरक र सम्मानजनक रूपमा समेटिएको निर्माण पक्षले जनाएको छ। यस कारण ‘तामाङ पाराले’ विशेषगरी तामाङ समुदायले अवश्य हेर्नुपर्ने भिडियो भएको उनीहरूको आग्रह छ।
मुख्य कलाकार प्रीतम गोले तामाङका अनुसार, गायक लोप्चन र गोलेबीच लामो समयपछि सहकार्य भएको हो। यसअघि उनीहरूको सहकार्यमा चर्चित बनेका ‘बल्ल पो तामाङको हुल उठ्यो’ र ‘लेकमा जाँदा’पछि यो तेस्रो संयुक्त भिडियो हो। अघिल्ला सिर्जनाजस्तै ‘तामाङ पाराले’ले पनि दर्शक–श्रोताको मन जित्नेमा दुवैले विश्वास व्यक्त गरेका छन्।

सिन्धुपाल्चोक भेगको मौलिक भाकाका रूपमा चिनिँदै आएको खान्दोके सेलो आज विश्व सांगीतिक बजारमा समेत आफ्नो पहिचान बनाइसकेको छ। यस भाकाको प्रवर्द्धनमा गायक लोप्चनको योगदान उल्लेखनीय रहँदै आएको छ। उनका स्वरमा रहेका ‘बल्ल पो तामाङको हुल उठ्यो’, ‘वाला वाला रिबन’, ‘झिल्के खुवाली’, ‘यार्साली दोस्ती’, ‘आगो त बाल्ने सलाईको’, ‘जाउँ हिड लन्डन’, ‘हाम्मै सरी खै लाला’ लगायतका खान्दोके गीतहरू दर्शक–श्रोतामाझ लोकप्रिय छन्, जसका अडियो–भिडियो क्लिक नेपाल युट्युब च्यानलमार्फत हेर्न सकिन्छ।
यस वर्षको ल्होछार नजिकिँदै गर्दा गायक लोप्चन अस्ट्रेलियाको सिड्नीमा तामाङ सोसाइटी अफ NSW को आयोजनामा हुने बृहत् ल्होछार सांगीतिक कार्यक्रममा अतिथि कलाकारका रूपमा सहभागी हुने पक्का भएको छ। साथै, नेपालका विभिन्न शहरहरूमा समेत उनका ल्होछार विशेष लाइभ प्रस्तुतिहरू हेर्न सकिनेछ।