नेपाली कांग्रेसका महासमिति सदस्य तथा हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले निःशुल्क शिक्षा र स्वास्थ्यलाई केन्द्रीय एजेन्डा बनाउँदै पार्टीको आधिकारिक तथा नियमित महाधिवेशनका लागि महामन्त्री पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। उनले उक्त घोषणा सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै कांग्रेसलाई जनताको वास्तविक पार्टी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। सामाजिक सञ्जालमा सार्वजनिक वक्तव्यमा शेर्पाले नेपाली कांग्रेसले तय गरेको पार्टी विधानअनुसारको नियमित महाधिवेशन प्रक्रिया अनुसार नै अघि बढ्नुपर्ने स्पष्ट धारणा राखेका छन्। उनका अनुसार यो कुनै विशेष महाधिवेशन नभई नियमित र आधिकारिक महाधिवेशन भएकाले यसैमार्फत पार्टीलाई एकताबद्ध र सुदृढ बनाउनु आजको आवश्यकता हो।
उनले विशेष महाधिवेशनले पार्टीलाई विभाजनतर्फ धकेल्ने जोखिम रहेको उल्लेख गर्दै, नियमित महाधिवेशन नै कांग्रेसको आन्तरिक लोकतन्त्र, एकता र भविष्य सुरक्षित गर्ने मार्ग भएको बताए। शेर्पाले भने, “पार्टीलाई फुटतर्फ होइन, एकतर्फ लैजानु आजको आवश्यकता हो, र त्यो नियमित महाधिवेशनबाट मात्रै सम्भव छ।”महाधिवेशनलाई सफल बनाउन गाउँ–गाउँबाट प्रतिनिधिहरूको सक्रिय सहभागिता अपरिहार्य रहेको जनाउँदै शेर्पाले अग्रज नेता, युवा पुस्ता र क्रियाशील कार्यकर्ताबीचको एकताबद्ध सहभागिताले मात्र कांग्रेसलाई जनताको भरोसायोग्य राजनीतिक शक्तिका रूपमा पुनः स्थापित गर्न सकिन्छ बताए।
शेर्पाले नेपाली कांग्रेसको राजनीतिक दिशालाई स्पष्ट पार्दै, शिक्षा र स्वास्थ्यलाई पूर्ण रूपमा निःशुल्क तथा सर्वसुलभ बनाउने नीति पार्टीको प्रमुख प्रतिबद्धता हुनुपर्ने धारणा अघि सारेका छन्। यसका साथै पार्टी नेतृत्व समावेशी, सहयोगी र जनमुखी हुनुपर्नेमा उनले जोड दिएका छन्।
उनले नेतृत्व चयनलाई सह–महामन्त्री तहमा मात्र सीमित नराखी महामन्त्री र उपसभापति तहसम्म सक्षम, प्रतिबद्ध र दूरदर्शी नेतृत्व स्थापित गर्नुपर्ने आवश्यकता औंल्याउँदै आफू त्यस दिशामा जिम्मेवारी लिन तयार रहेको बताएका छन्। महामन्त्री पदमा उम्मेदवारी घोषणा गर्दै शेर्पाले सबै कांग्रेसजनलाई व्यक्तिगत स्वार्थभन्दा माथि उठेर संगठन निर्माण, पार्टी सुदृढीकरण र वैचारिक स्पष्टतामा एकजुट भई अघि बढ्न आह्वान गरेका छन्।