२०७२ सालको भूकम्प देखि नै सुरु भएको अरनिको राजमार्गमा पर्ने इको पहिरोलाई सरकारले वेवास्ता गर्दा यो बर्ष दुइ महिना भन्दा लामो समयदेखि तातोपानी नाका अवरुद्ध छ । व्यापारीहरुले चाडपर्व लक्षित गरेर आयात गरेका फलफुल लगायतको ५० अर्ब रूपैयाँ बराबरको सामान बाटोमै अड्किएको छ । फलफुलहरु कुहिएर बाटोमै गन्हाउन थालेको छ भने व्यवसायीहरु लगानी डुब्ने चिन्ताले पिरोलिएका छन् ।
सिन्धुपाल्चोकको बाह्रबिसे बजारबाट २० किलोमिटर माथि पुगेपछि डाक्लाङ भन्ने ठाउँमा धेरै बर्ष देखि पहिरो गइराखेको छ । उक्त ठाउँमा माथिबाट लेदोसहित आउने पहिरोले तातोपानी नाका सम्बद्ध व्यापारीहरूलाई बर्षौदेखि पीडा दिइरहेको छ । यो बर्षपनि चीनबाट नेपाल भित्रिएर तातोपानी भन्सार भएर काठमाडौँ जाँदै गरेको कन्टेनरहरू पहिरोले डाक्लाङमा रोकिएपछि फलफूलहरु कुहिन थालेको छ । दशैँको लागि काठमाडौँ भित्र्याइन लागेको स्याउ, आँप, अंगुर, सुन्तला, किवी, ड्रागनफूट लगायतका फलफुल पहिरोको कारण कुहिन थालेको हो । नाकामा दशैँ लक्षित सामान ल्याएको शिल्क टान्सर्पोटको मात्र १ हजार ५ सय वटा कन्टेनर फसेको छ । व्यवसायीको दसैँ अगाडि पुर्याउनुपर्ने सामान अझै अड्किएपछि आफूहरूलाई ठूलो घाटा व्यहोर्नुपर्ने अबस्था आएको शिल्क टान्सर्पोटका संचालक विजय शेर्पा बताउँनुहुन्छ ।
जुरेको पहिरो र भुकम्प पछि धरमर(धरमर चलिरहेको तातोपानी नाका गत साउन ६ गते भोटेकोशी गाउँपालिका २ स्थित इकोमा आएको पहिरोले ठप्प छ ।
२४ असारमा चीनको ल्हेन्दे खोलामा आएको बाढीले रसुवागढी नाका पूर्ण रूपमा ठप्प भएपछि त्यहाँको सबै सामान तातोपानी नाकामा आएको उद्योग वाणिज्य संघ सिन्धुपाल्चोकका अध्यक्ष बुद्धराज बस्नेतले बताउनुभयो । केरूङ, ल्हासा, सिगात्से, न्यालम, खासा र नेपालमा लोड भएर बसेका ५० अर्ब रूपैयाँ बराबरको कन्टेनरका सामान काठमाण्डौ लैजान नसकिएको उद्योग वाणिज्य संघ सिन्धुपाल्चोक अध्यक्ष बुद्धराज बस्नेतको भनाई छ ।
भूकम्प गएको सालदेखि नै इको पहिरो गएपनि सरकारले वास्ता नगर्दा यो स्थिति आएको पहिरो माथि वस्तिमा घर रहेका स्थानीयहरु बताउँछन् । हिउँदमा काम नगर्ने तर बर्खा लाग्छ अनि काम गर्न सरकार तातेको जस्तो गर्छ उनीहरुको गुनासो छ । पहिरोका कारण करिब ७०÷८० घरधुरी अहिले पनि जोखिममा बसिरहेको स्थानीय राजेश थामी बताउनुहुन्छ ।
वर्षा सुरु हुने वित्तिकै माथिबाट लेदो बगेर सडक नै बगाइदिने समस्या रहेको भोटेकोशी २ का वडाध्यक्ष कुमार श्रेष्ठले बताए । 'दिउँसो सडक बनाउने तर राती आएको पानीले सडक नै बगाउने समस्या भइरहेको उनले बताए ।
देशमा राजनीतिक उथलपुथल भएसँगै नयाँ सरकार बनेपछि सडक विभागको टोली स्थलगत अनुगमनमा पुगेको थियो । सडक विभागका महानिर्देशक डा। विजय जैसी, उपमहानिर्देशक प्रभातकुमार झा लगायतको टोलीले त्यहाँको स्थानीय, व्यवसायीसँग नाका संचालन र पहिरो नियन्त्रण के कसरी गर्न सकिन्छ भन्ने बिषयमा छलफल गरेको छ ।
तातोपानी नाका बन्द हुँदा दैनिक करिब ७ करोड रूपैयाँ राजस्व गुमेको तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राजेन्द्रप्रसाद चुँडालले बताए । तातोपानी भन्सारलाई सरकारले २४ अर्ब रूपैयाँ राजस्वको लक्ष्य दिएको छ ।
_6jpALH1nxX_n67xv9lghs9ltcijyefrvb5vjkgl3vniqxlatljhnh4sw1bckheibl0hrjtz-(1)-1758362658.jpg)
_grhzLeynvC_nbc0w0dxk5rw8mk2suvkbuq7uxkjf33esgj6o9f2trjf9xoeaiwef6u6rfdw-(1)-1758362675.jpg)
_kjkH8ygap0_nu0jglh3ze17ngvy3gyiamzpghga7oe75s8xljcilvleuqrerar9hqvlwo9u-(1)-(1)-1758362704.jpg)