इन्द्रावती गाउँपालिकामा सेवा प्रवाह, शान्ति सुरक्षा तथा लागूऔषध नियन्त्रणसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा इन्द्रावती गाउँपालिकाको समग्र शान्ति सुरक्षा, लागूऔषध नियन्त्रण, फौजदारी घटना, नदीजन्य पदार्थको अवैध उत्खनन तथा चोरी, सवारी दुर्घटना र नागरिकलाई प्रदान गरिने प्रशासनिक सेवाका विषयमा छलफल भएको थियो।
यस अवसरमा जनप्रतिनिधि तथा वडा तहका कर्मचारीहरूले नागरिकलाई सेवा प्रवाह गर्ने क्रममा देखिएका प्रशासनिक जटिलता, कागजात तथा सिफारिस प्रक्रिया, सेवाग्राहीले बेहोर्नुपर्ने समस्या र विभिन्न सरकारी सेवाका प्रक्रियागत विषयहरू उठाएका थिए। उठेका जिज्ञासा तथा गुनासाका विषयमा प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले सम्बन्धित कानुनी व्यवस्था र प्रशासनिक प्रक्रियाबारे स्पष्ट पार्दै, सेवा प्रवाहलाई थप सहज, सरल र प्रभावकारी बनाउन स्थानीय तह र जिल्ला प्रशासनबीच निरन्तर समन्वय आवश्यक रहेको बताए। उनले वडा तहबाट सिफारिस तथा कागजात तयार गर्दा आवश्यक प्रक्रिया पूरा गर्नुपर्ने र नागरिकलाई अनावश्यक झन्झट नहुने गरी सेवा प्रवाहमा सहजीकरण गर्नसमेत आग्रह गरे।
गाउँपालिका अध्यक्ष झम्कनाथ नेपालले जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले इन्द्रावती गाउँपालिकाको शान्ति सुरक्षा तथा सेवा प्रवाहमा गरेको सहकार्यप्रति धन्यवाद व्यक्त गरे। उनले स्थानीय तहमा देखिने सुरक्षा चुनौती समाधान गर्न प्रहरी प्रशासन, जनप्रतिनिधि र नागरिकबीच निरन्तर समन्वय र सहकार्य आवश्यक रहेको बताए।
अध्यक्ष नेपालले गाउँपालिकाको मुख्य प्रवेशद्वारका रूपमा रहेको सिपाघाटमा प्रहरी चेकपोस्ट स्थापना गर्नुपर्ने आवश्यकता औँल्याउँदै यस विषयमा जिल्ला प्रशासन र प्रहरी कार्यालयको ध्यानाकर्षण गराए। सिपाघाटबाट विभिन्न क्षेत्रतर्फ मानिस तथा सवारीसाधनको आवतजावत हुने भएकाले नियमित सुरक्षा निगरानी बढाउन चेकपोस्ट आवश्यक रहेको उनको भनाइ थियो।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक काजी कुमार आचार्यले इन्द्रावती गाउँपालिकाको शान्ति सुरक्षाको अवस्था समग्रमा सन्तोषजनक रहेको बताए। गाउँपालिकामा फौजदारी घटना धेरै नरहेको भए पनि आत्महत्याका घटना, सवारी दुर्घटना र ट्राफिक नियम उल्लंघनलाई चुनौतीका रूपमा लिनुपर्ने उनको भनाइ थियो।
आचार्यका अनुसार पछिल्लो समय गाउँपालिकामा १५ वटा फौजदारी मुद्दा दर्ता भएका छन्। तीन महिनाको अवधिमा आत्महत्याका दुई घटना भएको जानकारी दिँदै उनले यस्ता घटना न्यूनीकरणका लागि परिवार, समुदाय र स्थानीय सरकारबीच समन्वय आवश्यक रहेको बताए। उनले अदालतबाट फैसला भई फरार रहेका ६३ जनालाई पक्राउ गर्न समेत नागरिकबाट सूचना र सहयोगको अपेक्षा गरिएको बताए।
गाउँपालिका र जिल्ला प्रहरी कार्यालयको समन्वयमा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे, प्रहरी उपरीक्षक काजी कुमार आचार्य, अध्यक्ष झम्कनाथ नेपाल, उपाध्यक्ष शोभना तामाङ, इलाका प्रहरी कार्यलय नवलपुरका प्रहरी निरिक्षक वाङ्गेल लामा, सामुदायिक बिकास तथा वातावरण संरक्षण मञ्च नेपालका अध्यक्ष रामजी थापा, कार्यकारी निर्देशक गोबिन्द सापकोटा, कार्यक्रम ब्यवस्थापक मिनेश गुरुङ, जनप्रतिनिधि तथा कर्मचारीको सहभागिता थियो ।

