“जहाँ आवश्यकता, त्यहाँ लायन्स” भन्ने मानवीय सेवाको भावनासहित लायन्स क्लब अफ काठमाडौं शुभ तारा र लायन्स क्लब अफ गड साइबर सिटीले भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारका लागि करिब १६ लाख रुपैयाँ बराबरको राहत सामग्री वितरण गरेका छन्।
गत भदौ १० गते आएको भीषण बाढीबाट प्रभावित परिवारको वास्तविक अवस्था बुझ्दै क्लबका प्रतिनिधिहरू विभिन्न होल्डिङ सेल्टरमा पुगेका थिए। विपद्को पीडामा रहेका परिवारलाई तत्काल आवश्यक पर्ने सामग्री पहिचान गरी राहतस्वरूप लत्ताकपडा, डसना, तकिया, ब्ल्याङ्केट, झुल, स्याम्पु, सेनिटरी प्याडलगायत खाद्यान्न सामग्री वितरण गरिएको हो।
राहत सामग्री विदुर नगरपालिका–४ का वडाध्यक्ष बिनाेदबाबू ढुङ्गेल तथा त्रिशूली उद्योग वाणिज्य संघका अध्यक्ष गीता अमात्यको रोहबरमा वास्तविक बाढीपीडित परिवारलाई हस्तान्तरण गरिएको आयोजकले जनाएको छ।
बाढीले घरबार तथा दैनिक जीवन प्रभावित भएका परिवारलाई केही भए पनि राहत पुगोस् भन्ने उद्देश्यले मानवीय सेवाको अभियान सञ्चालन गरिएको लायन्स क्लब अफ काठमाडौं शुभ ताराले जनाएको छ। विपद्को समयमा राहत केवल सामग्रीको सहयोग मात्र नभई पीडित समुदायलाई आफूहरू एक्लो नभएको अनुभूति दिलाउने माध्यमसमेत भएको क्लबको भनाइ छ।
राहत वितरण कार्यक्रममा लायन्स क्लब अफ काठमाडौं शुभ ताराकी अध्यक्ष सुसिला श्रेष्ठ, चण्डिका श्रेष्ठ, आदित्य जोशी, आकाश श्रेष्ठ, रमिला प्रधान, मिना मानन्धर र महेश श्रेष्ठको सहभागिता रहेको थियो। त्यसैगरी लायन्स क्लब अफ गड साइबर सिटीका सुवास तामाङ र सुमन तामाङ पनि सहभागी थिए।
राहत सामग्री जुटाउनेदेखि प्रभावित परिवारसम्म पुर्याउने कार्यमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण व्यक्ति तथा संस्थाप्रति आयोजकले आभार व्यक्त गरेका छन्।
लायन्स क्लब अफ काठमाडौं शुभ ताराका संस्थापक अध्यक्ष राजेश हिमालयले विपद्को घडीमा प्रभावित समुदायको साथमा उभिनु सामाजिक संस्थाहरूको महत्वपूर्ण दायित्व भएको बताए। उनले मानवीय सेवाको अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिँदै आवश्यकता र अवस्थाअनुसार थप सहयोग गरिने जानकारी दिए।
विपद्का कारण पीडामा रहेका परिवारको अनुहारमा केही क्षण भए पनि राहत र आशाको अनुभूति दिलाउने उद्देश्यले गरिएको यो सहयोगले “जहाँ आवश्यकता, त्यहाँ लायन्स” भन्ने सेवाभावलाई व्यवहारमै प्रतिबिम्बित गरेको छ।






