विपत्तिको घडीमा गोकर्णेश्वर लाइट एकेडमीको सामाजिक उत्तरदायित्व: भोटेकोशी बाढीपीडितका लागि २ लाखभन्दा बढी राहत सहयोग घोषणा
काठमाडौ । रसुवा जिल्लामा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवार र समुदायको पुनरुत्थानका लागि गोकर्णेश्वर लाईट एकेडमीले मानवीय पहलकदमी लिएको छ। संकटको यस घडीमा हातेमालो गर्दै विद्यालय परिवारले कुल २ लाख रुपैयाँभन्दा बढीको राहत रकम जुट्याएर उदाहरणीय सामाजिक उत्तरदायित्व प्रदर्शन गरेको छ।
विपत्तिको सुरुआतमै विद्यालयका विद्यार्थीहरूले स्वतःस्फूर्त रूपमा सहयोग अभियान सञ्चालन गरी रु. ८३,९१०।– रकम सङ्कलन गरेका थिए। बालबालिकाहरूको यो भावनालाई थप ऊर्जा दिँदै विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूले आफ्नो तलबबाट कट्टा गरी रु. ५२,००० योगदान गरेको विद्यालयका प्रीन्सिपल सौर्यनाथ आचार्यले जानकारी दिनुभयो ।
उक्त रकममा विद्यालयका तर्फबाट आवश्यक रकम थप गरी कुल रु. १,५०,०००।– निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को खातामा जम्मा गरिसकिएको छ। प्याब्सनमार्फत यो रकम एकमुष्ठ रूपमा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा हस्तान्तरण हुने आचार्यले बताउनुभयो ।
यसका साथै, स्थानीय तह गोकर्णेश्वर नगरपालिकाले सञ्चालन गरेको राहत अभियानमा ऐक्यबद्धता जनाउँदै विद्यालयले न्यूनतम रु. ५०,०००।– थप सहयोग नगरपालिकाको कोषमा बुझाउने प्रतिबद्धता समेत जनाएको छ।
विद्यालय प्रशासनले यस विपद्को घडीमा निस्वार्थ भावले सहयोगि हात बढाउने सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक तथा कर्मचारी प्रती हार्दिक धन्यवाद ब्यक्त गरेकोछ ।
"सानो सहयोग, ठूलो आशा—विपद्मा एकता नै हाम्रो शक्ति हो" भन्ने मूल भावनाका साथ गरिएको यो कार्यले संकटमा परेका भोटेकोशीका बाढीपीडितहरूका लागि ठूलो राहत र हौसला पुर्याउने विश्वास लिइएको प्रीन्सिपल आचार्यले बताउनु भयो ।
