सिन्धुपाल्चाेक । रसुवा बाढीका कारण सिन्धुपाल्चोकका धेरै नागरिक प्रभावित भएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सिन्धुपाल्चोकले जिल्ला अधिवेशन स्थगित गरेको छ।
राप्रपा सिन्धुपाल्चोकका जिल्ला सचिव देवीलाल शर्मा लामिछानेद्वारा हस्ताक्षरित प्रेस विज्ञप्ति जारी गर्दै भदौ १५ गतेका लागि तय गरिएको जिल्ला अधिवेशन हाललाइ स्थगित गरिएको जनाइएको छ।
अब अधिवेशन ताेकिएकाे मितिभन्दा ६ दिन पछि भदाै २१ गते गर्ने सचिव लामिछानेले जानकारी दिए ।
चीनको तिब्बतबाट आएको भोटेकोशी नदीको बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन र नवलपरासी पूर्वसम्म त्रिशूली नदीको तटीय क्षेत्रमा ठूलो क्षति पु¥याएको र हजारौँ नागरिक प्रभावित भएको विज्ञप्तिमा उल्लेख छ । यस विपद्का कारण सिन्धुपाल्चोकमा समेत धेरै नागरिक प्रभावित भई शोकमा रहेको अवस्थालाई ध्यानमा राख्दै अधिवेशन स्थगित गरिएको राप्रपाले जनाएको छ ।
राप्रपाले विपद्का कारण प्रभावित नागरिकको उद्धार, उपचार, बेपत्ताको खोजी तथा पुनःस्थापनाका लागि सरकारसँग जोडदार माग पनि गरेको छ । साथै पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकलाई राहत तथा मानवीय कार्यमा सहयोग गर्न अपिल गरिएको छ ।
विज्ञप्तिमा राप्रपाका सबै तहका सांगठनिक संरचनालाई विपद्मा सरकारलाई आर्थिक, भौतिक, नैतिक तथा खोज तथा उद्धारमा आवश्यक सहयोग पु¥याउन निर्देशनसमेत दिइएको छ ।