गोसाईंकुण्डको धार्मिक यात्रा गर्ने चाहना धेरै समयदेखि मनमा थियो। अन्ततः २०८३।०५।०६ गते त्यो चाहना पूरा हुने अवसर प्रिय भाई विजय स्याङबो र अन्य साथीहरुले जुराईदिनु भयो। हिमाली प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र साथी भाइसँगको आत्मीयताले भरिएको हाम्रो चारदिने यात्रा अत्यन्तै अविस्मरणीय रह्यो।
पहिलो दिन : काठमाडौं हुँदै धुन्चे देउराली
यात्राको पहिलो दिन हामी बिहानै काठमाडौंबाट धुन्चेतर्फ प्रस्थान गर्यौँ। बाटोभरि देखिएका हरियाली डाँडाकाँडा, घुमाउरा सडक, खोलानाला र हिमाली भू-दृश्यले यात्रालाई रोमाञ्चक बनाइरहेको थियो। लामो यात्रा पार गर्दै हामी धुन्चे पुग्यौँ र त्यहाँबाट पैदल यात्रा सुरु गर्यौँ।
उकालो बाटो, चिसो हावा र वरिपरिका मनमोहक प्राकृतिक दृश्य नियाल्दै हामी देउराली पुग्यौँ। थकान भए पनि यात्राको उत्साह कम भएको थिएन। पहिलो रात देउरालीमै बास बस्यौँ। रातको शान्त वातावरण र चिसो मौसमले यात्राको छुट्टै आनन्द प्रदान गर्यो।
दोस्रो दिन : देउरालीदेखि बुद्धपार्कसम्म
दोस्रो दिन बिहानै उठेर हामीले यात्रा पुनः सुरु गर्यौँ। देउरालीबाट चन्दनबारी हुँदै च्योलोङपाटी र लहुरोविनातर्फ अघि बढ्यौँ। बाटोमा देखिएका घना जङ्गल, लालीगुराँसका बोट, हिमाली वनस्पति र टाढाटाढासम्म फैलिएका डाँडाहरूले हाम्रो मन लोभ्याइरहेका थिए।
कहिले उकालो, कहिले ओरालो र कहिले अप्ठ्यारो बाटो पार गर्दै हामी बुद्धपार्क पुग्यौँ। यात्राका क्रममा थकान महसुस भए पनि प्रकृतिको सौन्दर्यले सबै पीडा भुलाइदिएको थियो। साँझ बुद्धपार्कमा बास बस्यौँ। त्यहाँको शान्त वातावरणमा बसेर दिनभरिका अनुभवहरू साटासाट गर्दा निकै आनन्द आयो।
तेस्रो दिन : गोसाईंकुण्ड दर्शन
तेस्रो दिन हाम्रो यात्राको सबैभन्दा महत्वपूर्ण दिन थियो। बिहानै बुद्धपार्कबाट गणेश मन्दिर हुँदै हामी गोसाईंकुण्डतर्फ लाग्यौँ। यात्राभरि मनमा धार्मिक श्रद्धा र उत्साह थियो। कठिन उकालो, चिसो मौसम र पातलो हावाबीच पनि हामी निरन्तर अघि बढिरह्यौँ।
अन्ततः हामी पवित्र गोसाईंकुण्ड पुग्यौँ। हिमालले घेरिएको नीलो र शान्त कुण्डको दर्शन गर्दा मनमा अद्भुत आनन्द र शान्तिको अनुभूति भयो। त्यहाँको प्राकृतिक सौन्दर्य, धार्मिक महत्त्व र आध्यात्मिक वातावरणले हामी सबैलाई भावविभोर बनायो। भगवान् शिवप्रति श्रद्धा प्रकट गर्दै हामीले गोसाईंकुण्डको दर्शन गर्यौँ।
दर्शनपछि हामी फर्किने यात्रा सुरु गरी धुन्चेतर्फ लाग्यौँ। लामो दूरी पार गरेर साँझ धुन्चे पुग्यौँ र त्यहीँ बास बस्यौँ। दिनभरको थकान भए पनि गोसाईंकुण्ड दर्शन गर्न पाएको खुसीले शरीर र मन दुवै हलुका भएको महसुस भयो।
चौथो दिन : काठमाडौं फर्किंदै
चौथो दिन बिहान धुन्चेबाट काठमाडौं फर्किने यात्रा सुरु गरिसकेको छौ। फर्किने क्रममा पनि बाटोभरि देखिएका हरियाली पहाड, झरना, नदी, गाउँबस्ती र हिमाली दृश्यहरूले हाम्रो मन तानिरहने अनुमान गरेका छौ । गोसाईंकुण्ड यात्राका रमाइला क्षणहरू सम्झँदै, एक अर्कासँग अनुभवहरू बाँड्दै हामी काठमाडौं फर्किंने छौँ।
यो यात्रा केवल धार्मिक यात्रा मात्र नभई प्रकृतिसँग नजिक हुने, आत्मीय सम्बन्ध अझ गाढा र जीवनका अविस्मरणीय क्षणहरू सङ्गाल्ने अवसरको रुपमा ग्रहण गरेको छ। गोसाईंकुण्डको पवित्र दर्शन, हिमाली सौन्दर्य र यात्राका क्रममा प्राप्त आनन्दलाई हामीले जीवनभर सम्झि रहने छ।
हामी निकै मनमोहक र सुन्दर दृश्यहरू नियाल्दै धुन्चे, कालिकास्थान, त्रिशुली छहरे टोखा, काठमाडौं, हुँदै मेलम्ची फर्किंदै छौँ। भोलिदेखि भने हाम्रो भेटघाट पहिला जसरी नियमित हुनेनै छ। यात्रा अवादीभर साथ, सहयोग र आत्मीयता प्रदान गर्नुहुने सबैप्रति हार्दिक आभार व्यक्त गर्दछु।
आइतमान तामाङ
नगर प्रमुख
मेलम्ची नगरपालिका, सिन्धुपाल्चोक
