रिड नेपालद्वारा सञ्चालित ‘उत्थानशील सुरुवातका लागि सुरक्षित पोषण कार्यक्रमअन्तर्गत मेलम्ची नगरपालिकामा जलवायु अनुकूल समुदाय तथा विद्यालय निर्माणसम्बन्धी विशेष एकदिने प्रारम्भिक बैठक सम्पन्न भएको छ। नगरप्रमुख आइतमान तामाङको अध्यक्षतामा सम्पन्न उक्त बैठकमा नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, विद्यालयका प्रधानाध्यापक तथा सम्बन्धित सरोकारवालाहरूको सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्नुहु्ँदै नगर प्रमुख तामाङले बालबालिकाको स्वस्थ शारीरिक तथा मानसिक विकासका लागि पोषणयुक्त खानाको महत्वपूर्ण भूमिका रहने बताउनुभयो। उहाँले विद्यार्थीहरूको पोषण, शैक्षिक गुणस्तर सुधार, स्वास्थ्य प्रवर्द्धन तथा विद्यालयको समग्र विकासका क्षेत्रमा रिड नेपालले पुर्याउँदै आएको योगदानको प्रशंसा गर्नुभयो। साथै, जलवायु परिवर्तनका कारण उत्पन्न जोखिम न्यूनीकरण गर्दै विद्यालय तथा समुदायलाई थप सुरक्षित, सक्षम र उत्थानशील बनाउन सबै पक्षबीच सहकार्य आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो।
बैठकमा कार्यक्रमका उद्देश्य, कार्यान्वयन प्रक्रिया, अपेक्षित उपलब्धि तथा स्थानीय तह, विद्यालय र समुदायको भूमिकाबारे छलफल गरिएको थियो । पोषणयुक्त वातावरण निर्माण, स्वास्थ्यसम्बन्धी सचेतना अभिवृद्धि, विद्यालयको शैक्षिक सुधार तथा जलवायु अनुकूल अभ्यासलाई संस्थागत गर्ने विषयमा पनि सहभागीहरूले आ–आफ्ना धारणा राखेका थिए।
कार्यक्रममा उपप्रमुख उमा प्रधान, प्रमुख प्रशासकीय अधिकृ अनुषा कोइराला, विभिन्न वडाका वडाध्यक्षज्यूहरु, विद्यालयका प्रधानाध्यापकज्यूहरु तथा अन्य सम्बन्धित सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

