सिन्धुपाल्चोक। पाँचपोखरी थाङ्पाल गाउँपालिकाले स्वास्थ्य शाखाको समन्वयमा सुनौला १००० दिनका आमा तथा शिशुको पोषण अवस्थामा सुधार ल्याउने उद्देश्यले वडा नं. ३ र वडा नं. ८ का गरिब तथा विपन्न परिवारका २८ जना सुनौला १००० दिनका आमाहरूलाई प्रति व्यक्ति रु. २५,००० का दरले आर्थिक सहयोग प्रदान गरेको छ।
गाउँपालिका अध्यक्ष टासी लामाको प्रमुख आतिथ्यता तथा गाउँपालिका उपाध्यक्ष सुनिता अधिकारीको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा लाभग्राही आमाहरूलाई आर्थिक सहयोग रकम हस्तान्तरण गरिएको हो। कार्यक्रमको उद्देश्य आर्थिक रूपमा कमजोर परिवारका सुनौला १००० दिनका आमा तथा शिशुको पोषण सुधार, स्वास्थ्य अवस्था सुदृढीकरण तथा पोषणयुक्त आहारमा पहुँच बढाई स्वस्थ समाज निर्माणमा टेवा पुर्याउनु रहेको गाउँपालिका अध्यक्ष टासी लामाले जानकारी दिनु भयो ।
कार्यक्रमको प्रारम्भमा स्वास्थ्य शाखा प्रमुखले सुनौला १००० दिनको अवधिको महत्व, आमा तथा शिशुको पोषण, सन्तुलित आहार, स्वास्थ्य हेरचाह तथा गाउँपालिकाले सञ्चालन गरिरहेको पोषण सुधार कार्यक्रमका उद्देश्य, कार्यविधि र अपेक्षित उपलब्धिबारे विस्तृत जानकारी प्रस्तुत गर्नुभएको थियो। उहाँले गर्भधारणदेखि बच्चा दुई वर्षको उमेरसम्मको अवधि मानव जीवनको सबैभन्दा महत्वपूर्ण चरण भएकाले यस अवधिमा पर्याप्त पोषण र उचित स्वास्थ्य सेवाले बालबालिकाको शारीरिक, मानसिक तथा बौद्धिक विकासमा दीर्घकालीन सकारात्मक प्रभाव पार्ने बताउनुभयो।
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष टासी लामाले आफ्नो आमा तथा बाल्यकालका संघर्षपूर्ण दिनहरू स्मरण गर्दै भावुक मन्तव्य व्यक्त गर्नुभयो। उहाँले आफूले बाल्यकालमा भोगेका कठिनाइहरू सम्झँदै कुनै पनि आमा र शिशु आर्थिक अभावका कारण पोषणबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले गाउँपालिकाले यस्तो कार्यक्रम सञ्चालन गरेको बताउनुभयो। साथै, उहाँले हस्तान्तरण गरिएको रकमलाई पोषणयुक्त खाद्य सामग्री, आमा तथा शिशुको स्वास्थ्य हेरचाह र जीवनस्तर सुधारमा सदुपयोग गर्न आमाहरूलाई आग्रह गर्दै आगामी दिनमा पनि यस्ता जनहितकारी कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो।
विशेष अतिथि गाउँपालिका उपाध्यक्ष सुनिता अधिकारीले सुनौला १००० दिनको अवधिमा गरिएको लगानीले स्वस्थ, सक्षम र उत्पादनशील नागरिक निर्माणमा महत्वपूर्ण योगदान पुग्ने उल्लेख गर्दै पोषण सुधारका कार्यक्रमलाई गाउँपालिकाले उच्च प्राथमिकताका साथ अगाडि बढाइरहेको बताउनुभयो।
कार्यक्रममा सहभागी आमाहरूले गाउँपालिकाले कठिन आर्थिक अवस्थामा गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै यस आर्थिक सहयोगबाट पोषणयुक्त खाद्य सामग्री खरिद गर्न तथा आमा–शिशुको स्वास्थ्यमा आवश्यक खर्च व्यवस्थापन गर्न सहज हुने विश्वास व्यक्त गरेका थिए।
पाँचपोखरी थाङ्पाल गाउँपालिकाले स्वास्थ्य, पोषण तथा सामाजिक संरक्षणका क्षेत्रमा लक्षित वर्गको जीवनस्तर उकास्ने उद्देश्यले यस्ता जनमुखी तथा प्रभावकारी कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तर सञ्चालन गर्ने जनाएको छ।



