सिन्धुपाल्चोक, असार १९। मेलम्ची नगरपालिका–२ स्थित श्री जाल्पादेवी माध्यमिक विद्यालयमा आज "सांस्कृतिक काव्य उत्प्रेरणा उत्सव–२०८३" भव्य रूपमा सम्पन्न भएको छ।
साहित्य, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले सास्कको आयोजनामा सम्पन्न कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण खतिवडाको अध्यक्षता तथा नगेन्द्र प्रसाद खतिवडाको प्रमुख आतिथ्यता रहेको थियो। विशिष्ट अतिथिका रूपमा वरिष्ठ समाजसेवी रामबाबु नेपाल, संस्कृति विज्ञ डा. इन्दुल केसी, प्राध्यापक तथा सास्कका संस्थापक संरक्षक डा. सावित्री श्रेष्ठ, शीतल गिरी र अन्तर्राष्ट्रिय सञ्चार विज्ञ स्वर्णिमा श्रेष्ठ सहभागी हुनुभएको थियो।
कार्यक्रममा विद्यालयका प्राचार्य हरिहर आचार्यले सम्मानित व्यक्तित्व श्रीराम खतिवडाको योगदानबारे चर्चा गर्नुभएको थियो भने शिक्षक दिपेन्द्र रावलले स्वागत मन्तव्य राख्नुभएको थियो। डा. सावित्री श्रेष्ठले सास्क संस्थाको परिचय प्रस्तुत गर्नुभएको थियो।
उत्सवमा श्री जल्पादेवी माध्यमिक विद्यालयका विद्यार्थीहरूले आफ्ना सिर्जनात्मक काव्य रचना वाचन गरेका थिए। कार्यक्रममा साहित्यकार श्रीराम खतिवडालाई विशेष सम्मान प्रदान गरिएको थियो। अध्यक्षबाट सम्मानपत्र तथा प्रमाणपत्र प्रदान गरिएको र सास्क परिवार तथा उपस्थित अतिथिहरूले खादा र उपहार अर्पण गरेका थिए। सम्मान ग्रहणपछि श्रीराम खतिवडाले आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो।
त्यसैगरी सास्कका स्रष्टाहरूले काव्य वाचन गरेका थिए भने प्रविधि विज्ञ स्पन्दन श्रेष्ठले सास्कको २०८३ सालका सम्मान तथा पुरस्कारहरूको घोषणा गर्नुभएको थियो। कार्यक्रममा डा. इन्दुल केसी, ज्ञानु नेपाल र देवराज ढकाललाई सास्कको आजीवन सदस्यता प्रदान गरिएको थियो। अन्तर्राष्ट्रिय ज्ञान तथा सञ्चार क्षेत्रमा योगदान पुर्याउनुभएका स्वर्णिमा श्रेष्ठलाई विशेष सम्मान गरिएको अवसरमा उहाँले आफ्नो अनुभव साझा गर्दै धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो।
देशका विभिन्न जिल्लाबाट सहभागी साहित्यकार, लेखक, पत्रकार, शिक्षाविद् तथा समाजसेवीहरूको उल्लेखनीय उपस्थितिले कार्यक्रमलाई थप गरिमामय बनाएको थियो। सहभागीहरूले यस्ता कार्यक्रमले नेपाली भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण तथा नयाँ पुस्तामा सिर्जनात्मक चेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।
