नवलपुर, असार ८ । इन्द्रावती गाउँपालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा स्थानीय तह घोषणा गरिएको छ। सोमबार गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा तथा गाउँपालिका सामाजिक विकास समितिका संयोजक रविन्द्र कुमार खातीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा गाउँपालिका अध्यक्ष झम्कानाथ नेपाल, उपाध्यक्ष शोभाना तामाङ, शिक्षा विकास तथा समन्वय इकाई सिन्धुपाल्चोकका प्रमुख बैकुण्ठ सुवेदी, विभिन्न वडाका अध्यक्षहरू, राजनीतिक दलका प्रतिनिधिहरू, शिक्षा क्षेत्रमा कार्यरत साझेदार संस्थाका प्रतिनिधिहरू तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो। गाउँपालिका अध्यक्ष झम्कानाथ नेपालले यो घोषणा औपचारिकताका लागि मात्र नभई पूर्ण कार्यान्वयनका लागि गरिएको बताए। समृद्ध पालिका निर्माणका लागि यस्ता अभियान आवश्यक रहेको उल्लेख गर्दै संविधानले दिएको अधिकारलाई व्यवहारमा कार्यान्वयन गर्न सबैको सामूहिक प्रतिबद्धता आवश्यक रहेको बताए। आगामी नेतृत्वका लागि दायित्व मात्र थोपर्ने नभई कार्यान्वयनयोग्य र दिगो योजनाहरू अघि बढाउने प्रतिबद्धता गाउँपालिकाको रहेको पनि उनले बताए। गाउँपालिका उपाध्यक्ष शोभाना तामाङले सबैको उद्देश्य एउटै भएकाले यस अभियानलाई दिगोपनासहित अघि बढाउन सबै पक्षले सहयोग गर्ने विश्वास व्यक्त गरिन्। बजेट व्यवस्थापन लगायत आवश्यक पक्षमा गाउँपालिका प्रतिबद्ध रहेको जानकारी पनि दिइन्। शिक्षा विकास तथा समन्वय इकाई सिन्धुपाल्चोकका प्रमुख बैकुण्ठ सुवेदीले संविधानमा उल्लेखित शिक्षासम्बन्धी अधिकार अक्षरशः कार्यान्वयन हुनुपर्ने बताए। अन्तर्राष्ट्रिय प्रतिबद्धताअनुसार सन् २०८५ सम्म अनिवार्य तथा निःशुल्क शिक्षा सुनिश्चित गर्नुपर्ने उल्लेख गर्दै शिक्षा मानव जीवनको मौलिक हक भएको बताए। जिल्लामा हालसम्म आठ वटा स्थानीय तहले निःशुल्क तथा अनिवार्य शिक्षा घोषणा गरिसकेको र अन्य स्थानीय तह प्रक्रियामा रहेको जानकारी दिए।
गाउँपालिका प्रवक्ता तथा वडा नम्बर ५ का अध्यक्ष शशीनाथ आचार्यले घोषणा गर्नुभन्दा कार्यान्वयन चुनौतीपूर्ण हुने बताए। शिक्षा केवल पाठ्यक्रममा सीमित नभई जीवन जिउने कला सिकाउने माध्यम बन्नुपर्ने बताए। सामुदायिक विद्यालयको गुणस्तर सुधार र नियमित समीक्षा आवश्यक रहेको बताए। वडा नम्बर १० का अध्यक्ष रामचन्द्र घिमिरेले शिक्षामा पर्याप्त बजेट विनियोजन र शिक्षकहरूको क्षमता अभिवृद्धिमा ध्यान दिनुपर्ने बताए।
वडा नम्बर ४ का अध्यक्ष क्षेत्रबहादुर तामाङले शिक्षा मौलिक अधिकार भएकाले कुनै पनि बालबालिका शिक्षाबाट वञ्चित हुन नहुने बताए। घोषणासँगै कार्यान्वयनको जिम्मेवारी पनि थपिएको बताए। राष्ट्रिय स्वतन्त्र पार्टीका इन्द्रावती गाउँपालिका उपसभापति दिनेश थापाले अभियानलाई आफ्नो पार्टीको पूर्ण समर्थन रहने प्रतिबद्धता व्यक्त गरे। नेपाली कांग्रेसका इन्द्रावती गाउँपालिका सभापति जीवनकुमार थापाले प्रतिबद्धता जनाउनुभन्दा यसलाई कर्तव्य ठानेर अघि बढ्नुपर्ने बताए। गाउँपालिकाले नागरिकका गाँस, बास र कपासको व्यवस्था गर्न सके शैक्षिक क्षेत्रमा विद्यार्थी संख्या बढ्ने बताए। व्यवहारिक, नैतिक र सीपमूलक शिक्षामा जोड दिनुपर्ने बताए। नेकपा एमालेका गाउँपालिका अध्यक्ष डबले लामाले उत्कृष्ट विद्यार्थी सम्मान कार्यक्रमले विद्यार्थीहरूमा प्रतिस्पर्धा र मेहनत गर्ने भावना विकास गरेको बताए। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का इन्द्रावती गाउँपालिका अध्यक्ष देवेन्द्र दाहालले संविधानले दिएको अधिकारअनुसार बालबालिकाको निःशुल्क शिक्षा सुनिश्चित भएको बताए। तर कार्यान्वयनमा चुनौती हुन सक्ने भन्दै विद्यालयमा विद्यार्थी आकर्षण घट्नुको कारण समीक्षा गर्नुपर्ने बताए। निःशुल्क भन्दैमा सेवा कमजोर हुनु हुँदैन भन्ने धारणा हटाउनुपर्ने बताए। जनप्रतिनिधि, कर्मचारी र शिक्षकहरूले आफ्ना बालबालिका सामुदायिक विद्यालयमै पढाउने नीति आवश्यक रहेको बताए। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दानबहादुर ऐडीले विद्यालय उमेरका बालबालिकालाई विद्यालयसम्म ल्याई निःशुल्क शिक्षा प्रदान गर्न सफल भएको जानकारी दिए।
शिक्षा शाखा प्रमुख मीन धामीका अनुसार ६ हजार ८९५ घरधुरी सर्वेक्षणमा ४ देखि १३ वर्ष उमेरका ४ हजार ५०९ बालबालिका पहिचान भएका थिए। तीमध्ये ७७ जना विद्यालय बाहिर रहेकोमा उनीहरूलाई ३८ वटा सामुदायिक विद्यालयमा भर्ना गरिएको जानकारी दिए। कार्यक्रममा विभिन्न विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति तथा साझेदार संस्थाका प्रतिनिधिहरूले अभियान सफल बनाउन पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रममा सिंहमती माध्यमिक विद्यालयका विद्यार्थीले स्वागत गीत प्रस्तुत गरे भने ऐसेलुखर्क माध्यमिक विद्यालय र नवलपुर माध्यमिक विद्यालयका विद्यार्थीहरूले सन्देशमूलक गीत तथा सांस्कृतिक प्रस्तुति प्रस्तुत गरे। कक्षा ८ को परीक्षामा गाउँपालिकाभर उत्कृष्ट जिपिए ल्याउने सुशान्त पुर्कोटी र एलिना तामाङलाई गाउँपालिकाको तर्फबाट जनही २५ हजार रुपैयाँ नगद र प्रमाणपत्रसहित सम्मान गरिएको जानकारी दिइयो। कक्षा १२ मा उच्चतम जिपिए ल्याएर गाउँपालिकामै प्रथम भएकी गीता तोलाङलाई वडा नम्बर २ का अध्यक्ष श्यामबहादुर गिरीले ५ हजार रुपैयाँ नगदसहित सम्मान गरिएको जानकारी दिए। साथै उनले चाहेको विषय अध्ययन गर्न चाहेको कलेजमा निःशुल्क अध्ययनको व्यवस्था गरिने पनि जानकारी दिए।


-1782125451.jpeg)
-1782125612.jpeg)

-1782125613.jpeg)
-1782125717.jpeg)