आठौं पाँचपोखरी टी-२० जिल्ला स्तरीय क्रिकेट प्रतियोगिताको उपाधिका लागि पाँचपोखरी क्रिकेट क्लब र हेलम्बु गाउँपालिका भिड्ने भएका छन् ।
सोमबार तल्लो मुलपानी क्रिकेट मैदानमा सम्पन्न सेमिफाइनल खेलमा पाँचपोखरी क्रिकेट क्लब र हेलम्बुले आ–आफ्ना प्रतिद्वन्द्वीलाई पराजित गर्दै फाइनल यात्रा तय गरेका हुन् । पहिलो सेमिफाइनलमा समूह ‘ए’ विजेता पाँचपोखरी क्रिकेट क्लबले पाँचपोखरी हिमालयन क्रिकेट क्लबलाई ३३ रनले पराजित गर्यो ।
टस हारेर ब्याटिङ गरेको पाँचपोखरी क्रिकेट क्लबले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १५७ रन बनायो। प्रतिक श्रेष्ठले २४ बलमा ४४ रन बनाए भने कप्तान सार्थक धितालले ४१ र बुद्धिमान पाख्रिनले ३३ रन जोडे । अन्त्यतिर पुजन धितालले १० बलमा अविजित २६ रनको आक्रामक इनिङ्स खेले । हिमालयनका कप्तान पेम्बा तामाङले ३ विकेट लिए ।
जवाफमा पाँचपोखरी हिमालयन क्रिकेट क्लब १९ ओभरमा १२४ रनमा अलआउट भयो। कर्मा तामाङले ३४ तथा पासाङ तामाङले २० रन बनाए पनि टोलीलाई जिततर्फ डोर्याउन सकेनन्। पाँचपोखरी क्रिकेट क्लबका विजयकुमार धितालले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा ९ रन मात्र खर्चेर ३ विकेट लिए । मनोज खड्काले २ तथा प्रतिक श्रेष्ठले २ विकेट हात पारे ।
दोस्रो सेमिफाइनलमा हेलम्बु गाउँपालिकाले मेलम्ची नगरपालिकालाई २७ रनले हराउँदै फाइनलमा स्थान सुरक्षित गर्यो । टस जितेर ब्याटिङ गरेको हेलम्बुले २० ओभरमा २ विकेट गुमाएर १५७ रन बनायो । सचिन लेखक शतकबाट ४ रनले चुके पनि ६४ बलमा १० चौका र ३ छक्कासहित अविजित ९६ रनको उत्कृष्ट इनिङ्स खेले । शिवम तिवारीले १९ बलमा अविजित ३७ रन थपे ।
१५८ रनको लक्ष्य पछ्याएको मेलम्ची १९ ओभरमा १३० रनमा समेटियो । बाबिन बोहराले ४७, अभिषेक चौलागाईंले ३३ तथा सुभाष खत्रीले २६ रन बनाए पनि टोलीलाई फाइनल पुर्याउन सकेनन् । हेलम्बुका शिवम तिवारीले ४ ओभरमा १९ रन खर्चेर ५ विकेट लिएर खेलको दिशा नै बदलिदिए । कप्तान विवेक तामाङले ३ विकेट लिए ।
पहिलो सेमिफाइनलमा प्रतिक श्रेष्ठ तथा दोस्रो सेमिफाइनलमा सचिन लेखक प्लेयर अफ द म्याच घोषित भए । सचिनले भने आफ्नो पुरस्कार शिवम तिवारीलाई हस्तान्तरण गरे । पाँचपोखरी क्रिकेट क्लबका पूर्व अध्यक्ष तथा हाल अष्ट्रेलियामा रहेका उत्सव धितालले प्लेयर अफ द म्याच प्रायोजन गरेका छन् । प्रतियोगिताका प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई नगद १ हजार रुपैयाँ प्रदान गरिँदै आएको छ । अब प्रतियोगिताको उपाधिका लागि मंगलबार पाँचपोखरी क्रिकेट क्लब र हेलम्बु गाउँपालिका फाइनलमा आमनेसामने हुनेछन् ।

