कप्तान सार्थक धितालको उत्कृष्ट अलराउण्ड प्रदर्शनमा पाँचपोखरी क्रिकेट क्लबले आठौं पाँचपोखरी टी–२० जिल्ला स्तरीय क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित दर्ता गर्दै समूह ‘ए’ को विजेताका रूपमा सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ ।
शनिबार तल्लो मुलपानी क्रिकेट मैदानमा भएको चौथो दिनको एकमात्र खेलमा पाँचपोखरी क्रिकेट क्लबले चौतारा साँगाचोकगढी नगरपालिकालाई ७६ रनले पराजित गर्यो । तीन खेलबाट शतप्रतिशत नतिजा निकाल्दै पाँचपोखरी क्रिकेट क्लब ६ अंकसहित समूहको शीर्ष स्थानमा रहँदै अन्तिम चारमा पुगेको हो । यही समूहबाट हेलम्बु गाउँपालिका पनि तीन खेलमा दुई जितसहित सेमिफाइनलमा प्रवेश गरेको छ । चौतारा साँगाचोकगढी नगरपालिका र थाङपाल भ्याली क्रिकेट क्लब भने समूह चरणबाटै बाहिरिएका छन् ।
टस जितेर पहिले ब्याटिङ गरेको पाँचपोखरी क्रिकेट क्लबले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६८ रन बनायो । कप्तान सार्थक धितालले ५८ बलमा ५ चौका र २ छक्काको मद्दतमा ६२ रनको अर्धशतकीय इनिङ्स खेले । रोशन विकले ३० तथा प्रतिक श्रेष्ठले ३४ रन थपे । चौताराका उद्धव तिमल्सिनाले सार्थकसहित ५ विकेट लिए पनि टोलीलाई जित दिलाउन सकेनन् ।
जवाफमा १६९ रनको लक्ष्य पछ्याएको चौतारा साँगाचोकगढी नगरपालिका २० ओभरमा ७ विकेट गुमाउँदै ९२ रनमा सीमित भयो। कप्तान अशोक पौडेलले २५ र दीपेश बस्नेतले अविजित २२ रन बनाए । पाँचपोखरीका बलरहरूले अनुशासित प्रदर्शन गर्दै विपक्षीलाई खेलमा फर्किन दिएनन् । सार्थक धितालले २ विकेट लिए भने आरव तामाङ, विजयकुमार धिताल र रोशन विकले समान १–१ विकेट हात पारे ।
ब्याटिङमा अर्धशतक र बलिङमा २ विकेट लिएर टोलीको जितमा निर्णायक भूमिका खेलेका सार्थक धिताल प्लेयर अफ द म्याच घोषित भए । लगातार दोस्रो खेलमा प्लेयर अफ द म्याच बनेका उनले नगद १ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । यस प्रतियोगिताको प्रत्येक खेलको प्लेयर अफ द म्याच पुरस्कार पाँचपोखरी क्रिकेट क्लबका पूर्व अध्यक्ष तथा हाल अष्ट्रेलियामा रहेका उत्सव धितालले प्रायोजन गरेका छन् ।
समूह ‘बी’ बाट सेमिफाइनल पुग्ने टोलीको टुंगो भने आइतबार लाग्नेछ । मेलम्ची नगरपालिका र साँगाचोकगढी नगरपालिकाबीच हुने खेलले समूहको समीकरण तय गर्ने छ ।
