आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री–वितरण नियन्त्रण ऐन, २०४९ को प्रभावकारी कार्यान्वयन, स्तनपान प्रवर्द्धन तथा लागूऔषध दुव्र्यसन न्यूनीकरणसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले मेलम्चीमा सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको आयोजना र मेलम्ची नगरपालिकाको सहआयोजनामा भएको कार्यक्रममा मातृ तथा शिशु स्वास्थ्य, स्तनपानको महत्व, आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुको अनियन्त्रित प्रचारप्रसार तथा बिक्री–वितरण नियन्त्रणका कानुनी पक्ष र लागूऔषध दुव्र्यसन नियन्त्रणका विषयमा विस्तृत छलफल गरिएको थियो ।
मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख तामाङले स्तनपान सन्तानको अधिकार भएको बताउदै यसको हनन हुन नहुनेमा जोड दिनुभयो । उहाँले चिकित्सकको सल्लाह अनुसार अति आवश्यक भए मात्र यसको प्रयोग गर्नुपर्ने बताउदै व्यवसायीलाई पनि यस्ता सामग्री बिक्री गर्दा ध्यान दिन आग्रह गर्नुभयो ।
तामाङले लागु औषध दुर्ब्यसन न्यूनीकरण गर्न घर घर बाट नै अभियान सुरु गर्नु पर्नेमा जोड दिनुभयो ।
सिन्धुपाल्चोकका जिल्ला न्यायाधिवक्ता भगवतीदेवी गौतमले आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री–वितरण नियन्त्रण ऐन, २०४९ बारे जानकारी गराउनुभयो ।
मेलम्ची नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्रले लागू पदार्थको प्रयोगले व्यक्ति, परिवार र समाजमा नकारात्मक असर पार्ने भएकाले यसको न्यूनीकरणका लागि सामूहिक प्रयास आवश्यक रहेको बताउनुभयो ।
जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गा बजगाईंले आमाको दूध नवजात शिशुको लागि सबैभन्दा सुरक्षित, पोषणयुक्त र जीवनरक्षक आहार भएको बताउँदै शिशु जन्मिएको एक घण्टाभित्र स्तनपान सुरु गर्नुपर्ने तथा कम्तीमा छ महिनासम्म आमाको दूध मात्र खुवाउनुपर्ने विश्व स्वास्थ्य संगठनको सिफारिस रहेको जानकारी दिनुभयो ।
उहाँले आमाको दूधले शिशुको रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्नुका साथै कुपोषण, संक्रमण र अन्य स्वास्थ्य समस्याबाट जोगाउन महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो । साथै, आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री–वितरण नियन्त्रण ऐन, २०४९ लामो समयअघि बने पनि यसको प्रभावकारी कार्यान्वयन चुनौतीपूर्ण रहेको भन्दै सबै सरोकारवाला पक्षलाई कानुनी व्यवस्था पालना गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा सहभागी वक्ताहरूले आमाको दूधको महत्वबारे समुदायस्तरसम्म जनचेतना फैलाउनुपर्ने, शिशुको स्वस्थ भविष्यका लागि स्तनपानलाई प्राथमिकता दिनुपर्ने तथा लागूऔषध दुव्र्यसनविरुद्ध समाजका सबै तह र तप्काले सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए ।
अन्तरक्रिया कार्यक्रममा मेलम्ची नगरपालिकाका वडा अध्यक्ष , जनप्रतिनिधि , कर्मचारी , उद्योग बाणिज्य संघका प्रतिनिधि , सुरक्षाकर्मी, जनस्वास्थ्य कार्यालय लगायत विभिन्न सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधिहरूको सहभागिता रहेको जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका जनस्वास्थ्य अधिकृत साहारा सापकोटाले जानकारी दिनुभयो ।


-1781091413.jpeg)
-1781091434.jpeg)
-1781091469.jpeg)



