सिन्धुपाल्चोकमा क्रिकेट खेलको दीर्घकालीन विकास र संस्थागत सुदृढीकरणका लागि प्राविधिक जनशक्ति उत्पादन गर्ने उद्देश्यले विशेष तालिम कार्यक्रम सञ्चालन गरिने भएको छ। जिल्लामा क्रिकेटको विस्तार, प्रतिभा पहिचान तथा खेलाडी विकासका विभिन्न गतिविधि सञ्चालन गर्दै आएको सिन्धुपाल्चोक जिल्ला क्रिकेट संघले अब प्रशिक्षक, अम्पायर र स्कोरर उत्पादनमा विशेष जोड दिएको हो।
संघका अनुसार क्रिकेट खेललाई थप व्यवस्थित, प्रतिस्पर्धात्मक र व्यावसायिक बनाउन दक्ष खेलाडीका साथै योग्य प्रशिक्षक, अम्पायर तथा स्कोररको भूमिका महत्वपूर्ण रहने भएकाले जिल्लामै आवश्यक जनशक्ति तयार गर्ने अभियान अघि बढाइएको छ।
यसै अभियानअन्तर्गत हेलम्बु गाउँपालिकाको आयोजना तथा सहकार्यमा, सिन्धुपाल्चोक जिल्ला क्रिकेट संघको प्राविधिक सहयोगमा ‘ओ’ लेभल अम्पायर्स एन्ड स्कोरर्स कोर्स तथा ‘ओ’ लेभल कोचिङ कोर्स सञ्चालन गरिने भएको छ। तालिममार्फत क्रिकेटका नियम, खेल सञ्चालन, स्कोरिङ प्रणाली र प्रशिक्षणसम्बन्धी ज्ञान तथा सीप प्रदान गरिने जनाइएको छ।
कार्यक्रमले जिल्लाभित्र क्रिकेटसँग सम्बन्धित प्राविधिक दक्षता अभिवृद्धि गर्नुका साथै भविष्यमा प्रदेश, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा योगदान दिन सक्ने सक्षम प्रशिक्षक, अम्पायर र स्कोरर तयार गर्न महत्वपूर्ण आधार तयार गर्ने अपेक्षा गरिएको छ।
क्रिकेटको बढ्दो लोकप्रियतालाई व्यवस्थित गर्दै स्थानीय तहदेखि उच्च स्तरसम्म खेलको विकासमा योगदान पुर्याउने उद्देश्यका साथ सञ्चालन हुन लागेको यो पहललाई जिल्लाको क्रिकेट विकास यात्रामा महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

-1780217478.jpeg)