सिन्धुपाल्चोक, जेठ १४ — Global Inclusive Adventure Organization को सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पाँचपोखरी थाङपाल गाउँपालिका–६ स्थित श्री भूमेश्वरी आधारभूत विद्यालयका विद्यार्थीहरूलाई ट्र्याकसुट तथा विद्यालयलाई विभिन्न शैक्षिक सामग्री वितरण गरिएको छ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक तथा शिक्षकहरूले संस्थाका प्रतिनिधिहरूलाई खादा ओढाई स्वागत तथा सम्मान गरेका थिए।
सो अवसरमा संस्थाकी प्रतिनिधि रञ्जिता ढुंगानाले संस्थाले शिक्षा, वातावरण संरक्षण तथा महिला सशक्तीकरण (3E) का क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिँदै छात्रवृत्ति वितरण, पर्यटनसम्बन्धी तालिम तथा समुदाय विकासका गतिविधि निरन्तर सञ्चालन भइरहेको बताउनुभयो।
कार्यक्रममा संस्थाकी प्रतिनिधि मनमाया तामाङ, रञ्जिता ढुंगाना तथा समाजसेवी सुन्दर सापकोटाको उपस्थितिमा विद्यालयमा अध्ययनरत ४३ जना विद्यार्थीहरूलाई ट्र्याकसुट वितरण गरिएको थियो। साथै विद्यालयलाई २ वटा डस्टबिन, २ सेट खैजडी तथा २ वटा मादल समेत हस्तान्तरण गरिएको थियो।
ट्र्याकसुट पाएपछि विद्यार्थीहरू निकै उत्साहित देखिएका थिए। उनीहरूको खुसीले कार्यक्रमलाई थप भावुक र स्मरणीय बनाएको सहभागीहरूले बताएका छन्।
कार्यक्रमको समापनमा विद्यालय व्यवस्थापन समितिका अध्यक्षले संस्थाप्रति धन्यवाद व्यक्त गर्दै यस्ता सहयोगले विद्यार्थीहरूमा थप उत्साह र प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा विद्यार्थी, शिक्षक, विद्यालय व्यवस्थापन समिति तथा अतिथिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

