शीतलादेवी माध्यमिक विद्यालयको ६५ औं वार्षिकोत्सव मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङको प्रमुख आतिथ्य्तामा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथी तामाङले पछिल्लो समय नगरपालिका भित्र शिक्षाको गुणस्तरमा उल्लेखनीय सुधार आएको बताउनु भयो ।
प्रमुख तामाङले शिक्षा नै समृद्ध समाज निर्माणको मेरुदण्ड रहेको बताउनुहुँदै शिक्षामा गरिएको लगानी कहिल्यै खेर नजाने धारणा व्यक्त गर्नु भयो ।
उहाँले विद्यार्थीको उज्ज्वल भविष्य निर्माणका लागि शैक्षिक पूर्वाधार, प्रविधिमैत्री शिक्षण र गुणस्तरीय सिकाइमा नगरपालिकाले कुनै कञ्जुस्याइँ नगर्ने उल्लेख गर्दै आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम ल्याइने प्रतिबद्धता समेत जनाउनुभयो ।
त्यस्तै कार्यक्रमका विषेश अतिथी एवम मेलम्ची नगरपालिका उप प्रमुख उमा प्रधानले नगरपालिका शिक्षा क्षेत्रलाई सधैं प्राथमिकतामा राखेर अघि बढिरहेको बताउनुभयो । उहाँले विद्यालयको भौतिक पूर्वाधार विकास, शैक्षिक गुणस्तर अभिवृद्धि, शिक्षक क्षमता विकास तथा विद्यार्थीमैत्री वातावरण निर्माणमा नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो । आगामी दिनमा पनि यस विद्यालयको आवश्यकता अनुसार आवश्यक सहयोग गर्न नगरपालिका तयार रहेको बताउनुभयो ।
विद्यालयको विगतका स्मरण गर्दै उप प्रमुख उमा प्रधानले यस विद्यालयले विगत धेरै दशकदेखि यस क्षेत्रका हजारौँ विद्यार्थीलाई शिक्षा प्रदान गर्दै सक्षम, अनुशासित र जिम्मेवार नागरिक निर्माणमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै विद्यालय परिवार, शिक्षक अभिभावक तथा स्थानीय समुदाय सबैमा धन्यवाद व्यक्त गर्नुभयो ।
व्यवस्थापन समितिका अध्यक्षता भएको कार्यक्रममा कार्यक्रममा वडा नं. ५ का वडाध्यक्ष राजु रायमाझी, वडा नं. ९ का वडाध्यक्ष किरण दीप खड्का, वडा नं. १० का वडाध्यक्ष अमृत खनाल, मेलम्ची नगरपालिका शिक्षा शाखा प्रमुख लक्ष्मी रिजाल निवर्तमान वडाध्यक्ष श्री भक्त बहादुर खड्का लगायत शिक्षक, अभिभावक, व्यवस्थापन समितिका पदाधिकारी तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

