मेलम्ची । सांस्कृतिक चेतना र मौलिक पहिचान जोगाउँदै सबै मिलेर समावेशी र समृद्ध नगर निर्माणमा लाग्न मेलम्ची नगरपालिकाका उप प्रमुख उमा प्रधानले आह्वान गर्नुभएको छ ।
मेलम्ची नगरपालिका वडा नम्बर १ द्वारा आयोजित हरितालिका तीज २०८२ को अवसरमा आयोजित स्थानीय कला–संस्कृतिको संरक्षणका लागि वडा भित्रका विभिन्न समुदायहरुलाई विविध मौलिक सांस्कृतिक प्रस्तुति तथा लक्षित वर्गका लागि विभिन्न सांस्कृतिक सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै उप–प्रमुख प्रधानले कार्यक्रममा वडाले आयोजना गरेको तीज विशेष सांस्कृतिक कार्यक्रमले समाजमा सकारात्मक सन्देश दिन र स्थानीय कला–संस्कृतिको संरक्षणमा प्रेरणा जगाउन सफल हुने विश्वास व्यक्त गर्नुभयो।
उहाँले हाम्रो समाजमा सांस्कृतिक सम्पदा मात्र गर्वको कुरा होइन, यो आर्थिक, सामाजिक र भावी पुस्ताको पहिचानसँग पनि जोडिएको हुन्छ। हामीले आ–आफ्नो मौलिक कला, भेषभूषा, नाच–गानलाई संरक्षण नगरे हाम्रो इतिहास हराउनेछ। त्यसैले नगरपालिकाको तर्फबाट यस्ता कार्यक्रमलाई निरन्तर प्रोत्साहन र सहयोग गर्ने प्रतिबद्धता गर्नुभयो ।
उहाँले आज देखिएका कलाकारहरूको प्रस्तुति, दिदीबहिनीहरूको उत्साह र लक्षित वर्गका लागि सामग्री हस्तान्तरणले समावेशी विकास र सामाजिक न्यायको सन्देश फैलाउने बताउँदै यसले महिला सशक्तीकरण र सांस्कृतिक चेतनालाई अझ मजबुत बनाउने धारणा राख्नुभयो।
हामी सबै मिलेर संस्कृति र विकासलाई हातेमालो गर्दै अघि बढ्नुपर्छ। हाम्रो संस्कृति हाम्रो सम्पत्ति हो; यसलाई जोगाउनु हाम्रो जिम्मेवारी हो। भविष्यमा नगरपालिकाले वडास्तरदेखि नगरस्तरसम्म यस्ता कार्यक्रमलाई अझ व्यवस्थित, ठूलो र प्रभावकारी बनाउन योजना अघि बढाउने उहाँले प्रतिबद्धता ब्यक्त गर्नुभयो ।